SHARE
Samata Press · बुधबार १७ असार २०८३ ०६:२६ PM · 1 मिनेट पढाइ

घरघरमै सरकारी सेवा पुर्‍याउँदै हुलाक, ५ हजार ७२८ राहदानी सेवाग्राहीको घरमै

काठमाडौँ । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत हुलाक सेवालाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले उल्लेखनीय प्रगति हासिल गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हुलाकलाई आधुनिकीकरण गर्दै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने लक्ष्यअनुसार हालसम्म ७५ जिल्लामा सेवा विस्तार भएको जनाएको छ । सरकारको योजनाअनुसार नेपाल टेलिकमका सिम कार्ड, राहदानी, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्रलगायत सरकारी कागजात तथा सामग्री हुलाकमार्फत सम्बन्धित व्यक्तिको घरमै पुर्‍याउने व्यवस्था गरिएको छ । त्यस्तै स्वास्थ्य परीक्षणका लागि सङ्कलित नमुनासमेत सुरक्षित रूपमा प्रयोगशालासम्म ढुवानी गर्न थालिएको छ । मन्त्रालयका अनुसार केन्द्रीय डाँक रेखा पुनरावलोकन समितिले गत वैशाख ३० गते डाँक रेखा पुनरावलोकन गरी नयाँ संरचना स्वीकृत गरेपछि हुलाक सेवा प्रवाहको समय र लागत दुवै घटेको छ । पुनरावलोकनअघि पोखराबाट पाल्पासम्म हुलाक सामग्री पुग्न १० दिन लाग्ने गरेकोमा अहिले सोही रुटमा दुई दिनमै पुग्ने गरेको मन्त्रालयले जनाएको छ । हालसम्म हुम्ला र भोजपुर बाहेकका ७५ जिल्ला प्रशासन कार्यालयसँग सम्झौता भइसकेको छ । ती कार्यालयबाट जिल्ला हुलाक कार्यालयमा प्राप्त २ लाख ६ हजार ३३० वटा राहदानीमध्ये ५ हजार ७२८ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुर्‍याइएको छ । स्वास्थ्य क्षेत्रतर्फ १७ वटा अस्पतालसँगको सहकार्यमा १ हजार २३३ वटा स्वास्थ्य प्रयोगशालाका नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासम्म सुरक्षित रूपमा ढुवानी गरिएको छ । यस्तै, यातायात व्यवस्था विभागबाट प्राप्त ८ लाख ८ हजार ३१ वटा सवारी चालक अनुमति पत्र सम्बन्धित जिल्लाका यातायात कार्यालयसम्म पुर्‍याइएको छ । साथै यातायात कार्यालयसँगको समन्वयमा कास्की, मोरङ, बाँके, सुनसरी, बझाङ, कालिकोट र पर्सा जिल्लामा १ हजार ८९ वटा सवारी चालक अनुमति पत्र सम्बन्धित सेवाग्राहीको घरमै पुर्‍याइएको मन्त्रालयले जनाएको छ । त्यसै गरी, त्रिभुवन विश्वविद्यालयसँग भएको सम्झौताअनुसार हालसम्म विभिन्न जिल्लाका २६३ वटा शैक्षिक प्रमाणपत्र पनि हुलाकमार्फत सम्बन्धित व्यक्तिसम्म ढुवानी गरिएको छ । सरकारले हुलाक सेवालाई आधुनिक र भरपर्दो सरकारी कुरियर सेवाका रूपमा विकास गर्दै सार्वजनिक सेवालाई सहज, छरितो र नागरिकमैत्री बनाउने लक्ष्य राखेको जनाएको छ । त्यसका लागि आगामी दिनमा सेवा थप जिल्लामा विस्तार गर्नुका साथै घरदैलोमै सरकारी सेवा पुर्‍याउने कार्यलाई अझ प्रभावकारी बनाइने मन्त्रालयको भनाइ छ ।