प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्ताव संसदबाट पारित, के छ सङ्कल्प प्रस्तावमा ?
काठमाडौँ । सूचना प्रविधिको विकाससँगै बढ्दो चुनौतीका रूपमा देखा परेको ‘प्रविधिजन्य लैङ्गिक हिंसा’ नियन्त्रणका लागि राष्ट्रिय सभाले कठोर कदम चाल्ने निर्णय गरेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रेणु चन्दले प्रस्तुत गरेको उक्त सङ्कल्प प्रस्ताव बुधवार राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको हो । नेपालको संविधानले प्रत्याभूत गरेको समानता र महिलाको हकलाई डिजिटल माध्यममा समेत सुरक्षित बनाउने उद्देश्यले ल्याइएको यो प्रस्ताव गत जेठ २६ गते दर्ता भएको थियो । प्रस्तावमाथि भएको छलफलपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले कार्यान्वयनको पूर्ण प्रतिबद्धता जनाएकी छन् । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दल र सबै सांसदको प्रतिबद्धता नेकपाकी सांसद रेणु चन्द प्रस्तावक रहेको यस महत्त्वपूर्ण सङ्कल्प प्रस्तावलाई राष्ट्रिय सभाका विभिन्न दलका १८ जना सांसदले समर्थन गरेका छन् । समर्थक सांसदमा पदम बहादुर परियार, शेखर मेन्याङ्बो, मिना सिंह राणा, नर बहादुर विष्ट, श्रीकृष्ण अधिकारी, रुक्मिणी कोइराला, भुवन बहादुर सुनार, माया प्रसाद शर्मा, सावित्री मल्ल, गोमा देवकोटा, पूजा चौधरी, विष्णु बहादुर विश्वकर्मा, विष्णु कुमारी सापकोटा, गोमा तिम्सिना, दुर्गा कुमारी गुरुङ, संजुना देवकोटा, राज्यलक्ष्मी गैरे र विष्णु देवी पुडासैनी रहेका छन् । सांसदले दलीय स्वार्थभन्दा माथि उठेर डिजिटल माध्यममा महिला, किशोरी र अल्पसङ्ख्यक समुदायमाथि हुने हिंसा राष्ट्रिय चुनौती बनेको भन्दै यसलाई साझा सङ्कल्पका रूपमा पारित गरेका हुन् ।
