बालबालिकालाई पार्टी सदस्यता वितरणबारे मानव अधिकार आयोगले माग्यो रास्वपासँग स्पष्टीकरण
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग स्पष्टीकरण मागेको छ । आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगमा प्राप्त जानकारी तथा विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारका आधारमा रास्वपाको केन्द्रीय कार्यालयलाई असार १५ गते पत्राचार गरी विस्तृत जानकारी मागिएको जनाएको हो । आयोगका अनुसार पत्रमा १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यका रूपमा सङ्गठित गरिएको भन्ने समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । त्यस्तै, पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाल कानुन तथा नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुन सक्ने आयोगले जनाएको छ । सोही आधारमा राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१ (१) बमोजिम बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको हो वा होइन भन्ने सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन आयोगले रास्वपा लाई अनुरोध गरेको छ । आयोगका सहायक प्रवक्ता तथा उपसचिव श्यामबाबु काफ्लेद्वारा जारी प्रेस विज्ञप्तिमा बाल अधिकारसँग सम्बन्धित विषयमा आयोग संवेदनशील रहेको उल्लेख गर्दै प्राप्त जानकारीका आधारमा आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
