SHARE
Samata Press · मङगलबार १६ असार २०८३ ११:५२ PM · 1 मिनेट पढाइ

विप्लवको पार्टीमा फेरी पहिरो, दुई केन्द्रीय सदस्यसहित ३८ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेकपा (माओवादी)लाई कास्कीमा ठुलो सङ्गठनात्मक धक्का लागेको छ । पार्टीमा १३ वर्षदेखि विभिन्न तह र जिम्मेवारीमा सक्रिय रहेका दुई जना केन्द्रीय सदस्यसहित ३८ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् । उनीहरूले सोमबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका हुन् । विज्ञप्तिमा आफूहरू १३ वर्षअघि विप्लव नेतृत्वको नेकपा (माओवादी)मा विद्रोह गरेर वैकल्पिक कम्युनिस्ट आन्दोलन निर्माण गर्ने उद्देश्यका साथ पार्टी पुनर्गठनमा लागेको स्मरण गरिएको छ । जेल, हिरासत तथा सडक आन्दोलनदेखि निर्वाचन बहिष्कार र विभिन्न सङ्घर्षका कार्यक्रमसम्म सक्रिय भूमिका निर्वाह गरे पनि पार्टीले अपेक्षित राजनीतिक उपलब्धि हासिल गर्न नसकेको उनीहरूको निष्कर्ष छ । विज्ञप्तिमा नेपालको वाम आन्दोलन अहिले इतिहासकै रक्षात्मक अवस्थामा पुगेको उल्लेख गर्दै यस्तो अवस्थामा कम्युनिस्ट शक्तिबिच एकता, सहकार्य, पुनर्गठन र केन्द्रीकृत आवश्यक रहेको बताइएको छ । तर पार्टी नेतृत्वले त्यसको विपरीत पूर्वाग्रही ढङ्गले व्यवहार गरेको आरोप लगाइएको छ । विज्ञप्तिमा पार्टीका केन्द्रीय सचिवालय सदस्य उमा भुजेल र पोलिटब्युरो सदस्य चन्द्रबहादुर खड्का (असल) माथि गरिएको कारबाहीलाई पनि असन्तुष्टि बढाउने कारणका रूपमा उल्लेख गरिएको छ । नेतृत्वले एकता र पुनर्गठनको आवश्यकता विपरीत कदम चालेको निष्कर्षसहित आफूहरू पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जनाइएको छ । पार्टी छाड्नेमा केन्द्रीय सदस्य गौमती गुरुङ र खुसीमान गुरुङ, पूर्व जिल्ला सचिव सन्तोष परियार, समाजवादी निर्माण मजदुर सङ्घका केन्द्रीय संयोजक एवम् गण्डकी प्रदेश कार्यालय सदस्य सुरजकुमार गुरुङ, केन्द्रीय सचिवालय सदस्य तथा आइटी विभाग उपप्रमुख युवराज थापा, जिल्ला सचिवालय सदस्य कमल खड्का, निर्माण मजदुर सङ्घको प्रदेश संयोजक एवम् जिल्ला सदस्य रत्नबहादुर कार्की, जिल्ला सदस्य केदार श्रेष्ठ, मीनबहादुर परियार, सुमिता गुरुङ रहेका छन् ।  यस्तै अखिल समाजवादीका केन्द्रीय सचिवालय सदस्य केश घले, अखिल समाजवादीको क्याम्पस जिल्ला अध्यक्ष आशिष् राई, जिल्ला सदस्य एवम् प्लाटुन कमान्डर पूर्व पिएलए विकास सुनार, जिल्ला सदस्य तथा युवा जिल्ला इन्चार्ज महेन्द्र सेवाल लगायत रहेका छन् । यसै गरी जिल्ला सदस्य एवम् युवा सङ्गठन नेपालका संयोजक सन्तोष कार्की, जिल्ला सदस्य राम प्यारी परियार, जिल्ला सदस्य एवम् महिला सङ्गठन अध्यक्ष मिना विश्वकर्मा, युवा सङ्गठनका जिल्ला कोषाध्यक्ष रितु गुरुङ, युवा सङ्गठनका जिल्ला उपाध्यक्ष भीम लामा, जिल्ला सदस्य रामबहादुर विश्वकर्मा, युवा सङ्गठनका जिल्ला सहसचिव विवेक थापा, युवा सङ्गठनका जिल्ला सदस्य अजय सुनार र अखिल समाजवादी क्याम्पस जिल्ला सदस्य फोनस कार्की रहेका छन् । यस्तै पार्टी सदस्य अमरजीत सुनार, निदेश सेवाल, बिजेन बागदास, रुपा घले, कृषि तामाङ, प्रदीप सी, मन्तोष परियार, राजेश नेपाली, विकास नेपाली, सञ्जुना मगर, सुमिता थापा, प्रेमराज मंग्राती, पार्वती गडुवाल, रामबहादुर थापा र प्रतिमा गौचन सहित ३८ जनाले संयुक्त हस्ताक्षर गरेर पार्टीबाट अलग भएको घोषणा गरेका छन् । यसअघि पनि विप्लव नेतृत्वको नेकपाबाट विभिन्न जिल्लामा नेता-कार्यकर्ताले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने क्रम देखिएको थियो । एकै पटक ३८ जना नेता-कार्यकर्ताको सामूहिक बहिर्गमनलाई भने सङ्गठनका लागि महत्त्वपूर्ण झट्काका रूपमा हेरिएको छ । सामूहिक रूपमा पार्टी परित्याग गरेका नेता–कार्यकर्ताले तत्काल कुनै अर्को राजनीतिक दलमा आबद्ध हुने वा नयाँ सङ्गठन निर्माण गर्नेबारे भने आफ्नो निर्णय सार्वजनिक गरेका छैनन् । उनीहरूले अहिलेका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मात्रै मुक्त भएको घोषणा गरेका छन् ।