SHARE
Samata Press · सोमबार १५ असार २०८३ ०८:२७ PM · 1 मिनेट पढाइ

महाभारत, धुर्कोट र महाशिला गाउँपालिकालाई शून्य बेरुजुको सम्मान, दुई पालिका नेकपाले नेतृत्व गरेका

काठमाडौँ । आर्थिक वर्ष २०८१-८२ को लेखापरीक्षणमा शून्य बेरुजु कायम गर्न सफल तीन गाउँपालिकालाई महालेखापरीक्षकको कार्यालयले सम्मान गरेको छ । कार्यालयको ६८औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित विशेष समारोहमा तीन वटै गाउँपालिकालाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो । सम्मानित हुने स्थानीय तहमा बागमती प्रदेशको काभ्रेपलान्चोकस्थित महाभारत गाउँपालिका, लुम्बिनी प्रदेशको गुल्मीस्थित धुर्कोट गाउँपालिका र गण्डकी प्रदेशको पर्वतस्थित महाशिला गाउँपालिका रहेका छन् । महाभारत गाउँपालिका लगातार दोस्रो वर्ष पनि शून्य बेरुजु कायम गर्दै सम्मानित भएको हो । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्मा छन् । ३५ वर्षका अध्यक्ष जिम्वा उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित जनप्रतिनिधि हुन् । धुर्कोट गाउँपालिकाको अध्यक्ष भूपाल पोखरेल छन् । ४२ वर्षका युवा अध्यक्ष उनी पनि नेकपाबाटै निर्वाचित जनप्रतिनिधि हुन् । महाशिला गाउँपालिकाको अध्यक्ष ईश्वरप्रसाद भुसाल रहेका छन् । ६० वर्षका उनी भने नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधि हुन् । वार्षिकोत्सवका अवसरमा लेखा परीक्षण क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने कर्मचारीलाई पुरस्कार प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय विकास पहल (आईडीआई) अन्तर्गतको पेसा कोर्स उत्तीर्ण गरेका कर्मचारीलाई प्रमाणपत्र वितरण गरिएको थियो। यसै गरी सेवा निवृत्त निर्देशक कृष्णप्रसाद ज्ञवालीलाई औपचारिक बिदाइ गरिएको छ भने पूर्व उपमहालेखापरीक्षक पद्मदयाल वादे श्रेष्ठलाई दीर्घजीवी लेखा परीक्षण सम्मान प्रदान गरिएको छ। कार्यक्रमअन्तर्गत सकारात्मक चिन्तन, पूर्वीय दर्शन तथा योग–ध्यानसम्बन्धी विषयमा आचार्य ओशो अखण्डद्वारा प्रवचन, लेखा परीक्षणसम्बन्धी हाजिरी जवाफ प्रतियोगिता तथा रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको थियो। साथै ६७औँ वार्षिकोत्सवयता सेवा निवृत्त भएका कर्मचारीलाई सम्मान, २५ वर्ष सरकारी सेवा तथा लेखा परीक्षण क्षेत्रमा योगदान पुर्‍याएका कर्मचारीलाई दीर्घ सेवा सम्मान तथा विभिन्न प्रतियोगितामा विजयी कर्मचारीलाई पुरस्कृत गरिएको महालेखापरीक्षक कार्यालयका प्रवक्ता तथा नायब महालेखापरीक्षक श्रीकुमार राईले जानकारी दिए । समारोहमा प्रतिनिधि सभाका सभामुख डीपी अर्याल प्रमुख अतिथि तथा प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्का विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधान सेनापति, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, लेखा उत्तरदायी अधिकृत, सुरक्षा निकायका प्रमुख, पूर्व उपमहालेखापरीक्षकलगायत उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो । दीप प्रज्वलन गरी समारोहको उद्घाटन गर्दै सभामुख अर्यालले सीमित स्रोत–साधनका बाबजुद देशभर समयमै लेखा परीक्षण सम्पन्न गरी प्रतिवेदन पेस गरेको भन्दै महालेखापरीक्षकको कार्यालयको प्रशंसा गरे। उनले लेखा परीक्षणलाई समयानुकूल बनाउन आधुनिक प्रविधि र नवीन विधिको प्रयोग गर्दै अझ प्रभावकारी, गुणस्तरीय र विश्वसनीय बनाउनुपर्नेमा जोड दिए ।  सार्वजनिक लेखा समितिका सभापति खड्काले महालेखापरीक्षकको कार्यालय र सार्वजनिक लेखा समितिबिच घनिष्ठ समन्वय आवश्यक रहेको उल्लेख गर्दै वित्तीय अनुशासन कायम गर्न तथा बेरुजु फर्छ्योट प्रक्रियालाई प्रभावकारी बनाउन आगामी दिनमा सहकार्यलाई थप सुदृढ गरिने बताए । महालेखापरीक्षक तोयम रायाले गुणस्तरीय लेखा परीक्षणमार्फत सार्वजनिक निकायमा पारदर्शिता, जबाफदेहिता र सुशासन प्रवर्द्धन गर्न कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले सार्वजनिक वित्तीय व्यवस्थापनलाई अझ सुदृढ बनाउन लेखा परीक्षण प्रणालीलाई समयानुकूल परिष्कृत र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।