अर्जुन कुमालको शतकमा पोखरा महानगर फाइनलमा, उपाधिका लागि काठमाडौंसँग भिड्ने
काठमाडौँ । पीएल सिंह मेमोरियल टी २० कप अन्तर्गत शुक्रबार भएको खेलमा पोखरा महानगरपालिकाले वीरगञ्ज महानगरपालिकालाई ४४ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ । अब पोखराले आज हुने उपाधि भिडन्तमा काठमाडौँ महानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनायो । टोलीका लागि अर्जुन कुमालले विस्फोटक ब्याटिङ गर्दै ६१ बलमा १०५ रनको शतकीय इनिङ्स खेल्नुभयो । उहाँले आफ्नो इनिङ्समा ११ चौका र ५ छक्का प्रहार गर्नुभएको थियो । यस्तै सिब्रिन श्रेष्ठले २२ बलमा ३० रन तथा सन्दीप खत्री क्षेत्रीले ६ बलमा १४ रनको तीव्र योगदान दिनुभयो । १७८ रनको लक्ष्य पछ्याएको वीरगञ्जले आक्रामक सुरुआत गरे पनि त्यसलाई निरन्तरता दिन सकेन । मयन यादवले २० बलमा ४० रन तथा अरनिको प्रसाद यादवले २५ बलमा ३२ रन बनाउनुभयो । अन्य ब्याटरले अपेक्षित साथ दिन सक्नुभएन ।
