काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप उपलब्ध गराएको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोल अस्पतालमा पुगेर खोप प्रदान गर्नुभएको हो । खोप प्रदान गर्दै उहाँले भन्नुभयो, ‘अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ । खोपको अभावले आउने विपदको सामनाका लागि प्रतिकार्य हो ।’ उहाँले रेविज जोखिमको कुरा गर्दै भन्नुभयो, ‘जनावरले टोकेपछि उपचारका लागि जाने अस्पताल नै सरुवा रोग अस्पताल हो । यसमा लक्षण पर्खिन सकिँदैन । लक्षण देखिए पछि उपचार थालौँला भन्न सकिँदैन । यस्तो जोखिम घटाउन सबैले मिलेर काम गर्नुपर्छ ।’ खरिद प्रक्रियाका कारण खोप अभाव हुन सक्ने देखिएकोले हामीले महानगरपालिकासँग सहयोग मागेका हौँ ।
