SHARE
अर्थ संवाद · बुधबार १० असार २०८३ ०५:१३ PM · 1 मिनेट पढाइ

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि विकास, सम्पदा तथा संस्कृति संरक्षण, सुशासन, सामाजिक समावेशीकरण र दिगो शहरी विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरेको छ । बुधबार बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरवासीका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताएकी छन् । उनले सकारात्मक सोचका साथ राम्रा काम र असल अभ्यासको निरन्तरता कायम गर्दै सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका वर्ग, समुदाय र क्षेत्रलाई विकासको मूलधारमा समेट्ने लक्ष्य लिइएको उल्लेख गरिन् । बजेटले महानगर र नगरवासीबीचको विश्वास, सम्बन्ध र सामीप्यलाई अझ सुदृढ बनाउने अपेक्षा पनि व्यक्त गरिएको छ । महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गठित स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको सिफारिसअनुसार आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि महानगरपालिकाले ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । जसमा कुल खर्च ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँ रहेको छ । यसमध्ये चालु खर्चतर्फ २ अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ छ ।