‘शक्तिको मात र अहङ्कार झल्कियो’ भन्दै रक्षा बमद्वारा खगेन्द्र सुनारको आलोचना
काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा भइरहेको पहिलो महाधिवेशनमा अतिथिका रूपमा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिबारे व्यक्त गरिएको टिप्पणीप्रति आपत्ति जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बमले रास्वपाका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारले व्यक्त गरेको धारणा शक्तिको मात र अहङ्कारबाट प्रभावित देखिएको टिप्पणी गरेकी हुन् । उनले विचार, सिद्धान्त र राजनीतिक मत फरक-फरक हुन सक्ने भए पनि अतिथिको सम्मान गर्नु नेपाली समाजको सभ्यता, संस्कार र लोकतान्त्रिक मूल्यको आधारभूत पक्ष भएको उल्लेख गरेकी छन् । बमले असहमति व्यक्त गर्ने अधिकार सबैलाई भए पनि कसैलाई अपमान गर्ने अधिकार नरहेको बताएकी छन् । उनका अनुसार यस्ता अभिव्यक्तिले नयाँ पुस्तामा फरक विचार राख्ने व्यक्तिप्रति असहिष्णु बन्ने प्रवृत्ति बढाउन सक्छ । 'विचार, सिद्धान्त र राजनीतिक मत फरक हुन सक्छन्, तर अतिथिको सम्मान गर्नु हाम्रो सभ्यता, संस्कार र लोकतान्त्रिक मूल्यको आधारभूत पक्ष हो,' उनले लेखेकी छन्, 'असहमति व्यक्त गर्ने अधिकार सबैलाई छ, तर अपमान गर्ने अधिकार कसैलाई छैन ।' बमले सार्वजनिक अभिव्यक्तिमा संयमता र मर्यादा आवश्यक रहेको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासमा संवाद, सहिष्णुता र पारस्परिक सम्मानलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेकी छन् । उनले रास्वपाका नेता-कार्यकर्तालाई समेत यस्ता प्रवृत्तिलाई सामान्य रूपमा नलिन आग्रह गरेकी छन् । 'रास्वपाका साथीहरूलाई विनम्र अनुरोध छ, यस्ता प्रवृत्तिलाई सामान्य नबनाउनुस् । यस्तो अराजकता रोक्नुस्,' उनले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।
