चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्धित
काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन् । सिनेमा छायांकनको मध्यतिर उनी यो चलचित्रमा अनुबन्ध भएकी हुन् । सोमबार ‘महाराजधिराज’को ३३ औँ दिनको छायांकन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो चलचित्रमा अनुबन्ध गरेको जानकारी दिएको हो । “हामी एक अब्बल कलाकारको खोजीमा थियौँ । त्यसैले पूजनालाई हामीले अनुबन्ध गराएका छौँ,” ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले भने, “उहाँको प्रवेशले हाम्रो टिम थप सशक्त बनेको छ ।” अहिले काठमाडौंका विभिन्न ठाउँमा यो चलचित्रको छायांकन भइरहेको छ । सुनसरीको श्रीलंका टापुबाट सुरु भएको चलचित्रको छायांकन अहिले काठमाडौंमा भइरहेको हो । भक्तपुरमा पनि यो सिनेमाको छायांकन भएको छ । यो चलचित्रको छायांकन सेड्युल ७० दिनको छ । परिच्छेद सेनले निर्देशन गरिरहेको ‘महाराजधिराज’लाई नबराज थापाले खिचिरहेका छन् । ‘महाराजधिराज’ सोसल पिरयड ड्रामा रहेको निर्देशक सेनले बताएका छन् ।
