६६ दिनदेखि धर्नामा दिपा नेपाली : माइतीघर पुगेर आश्वासन दिएका गृहमन्त्री गुरुङले कुनै पहल गरेनन्
काठमाडौँ। जातकै कारण काठमाडौँ उपत्यकामा दलित समुदायका युवाहरूले कोठा भाडामा पाउन नसकिरहेको यथार्थमा सरकारको ध्यानाकर्षण गराउन दिपा नेपालीसहित युवाहरूले ६६ दिनदेखि धर्ना दिइरहेका छन्। तर सरकारले सुनेको छैन। यतिसम्म कि प्रदर्शनरत युवाहरूसँग सरकारले वार्ताको पहल समेत गरेको छैन। साताअघि गृहमन्त्री सुधन गुरुङ आफैँ माइतीघर पुगेर छलफल र समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका थिए। तर गृहमन्त्री गुरुङले पनि त्यसबारे कुनै पहल लिएका छैनन्। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मै दलित समुदायमाथि ऐतिहासिकरुपमा हुँदै आएको जातीय विभेदविरुद्ध माफी मागेको भएपनि व्यवहारमा भने रास्वपा न सरकार, कसैले पनि दलित समुदायको उत्थान र सशक्तिकरणका लागि कुनै पहल लिएका छैनन्। अभियन्ता नेपालीले आफू दलित भएकै कारण कोठा भाडा नपाएको र पाए पनि निष्कासित हुनुपरेको गुनासो गरेकी छन्। उनलाई पूर्वसांसद विमला विक, आशा विक लगायतले पनि धर्नामा साथ दिएका छन्। 'जबसम्म हाम्रो माग पुरा हुन्न तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ। जो जहाँ हुनुहुन्छ, देश विदेशमा यो सामाजिक मुद्दामा सबैले आ आफ्नो ठाउँबाट बोल्नुहोला,' नेपालीले सामाजिक सञ्जालमार्फत अपिल गरेकी छन्।
