असार १० गतेदेखि विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सुरु हुँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा पहिलो पटक खोखो प्रतियोगिता हुने भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल खोखो संघले सामुदायिक विद्यालय स्तरीय प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता सम्बन्धी जानकारी दिन आज काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा, पहिलो पटक महानगरपालिकाव्यापी विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता २०८३ हुन गइरहेको जानकारी दिइएको हो । त्यस क्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले, शिक्षा र खेलकुदका कार्यक्रमलाई समानान्तर र समान प्राथमिकताका साथ सञ्चालन गर्ने योजना अनुरुप यो प्रतियोगिता गर्न लागिएको बताउनुभयो । ज्ञवालीका अनुसार ३६ लाख रुपियाँ लागत रहेको प्रतियोगिताका लागि काठमाडौँ महानगरपालिकाले ३० लाख रुपियाँ प्रदान गर्नेछ । संघले ६ लाख रुपियाँ लागत व्यहोर्नेछ । संघका अध्यक्ष दिपक महर्जनले, विद्यालय स्तरमा खो खो खेलको विकासमा यो प्रतियोगिताले अवसर प्रदान गर्ने धारणा राख्नुभयो । उहाँका अनुसार प्रतियोगितामा सामुदायिक विद्यालय तह कक्षा १० सम्म अध्ययनरत छात्रछात्रा दुबै समूहका खेलाडीहरुले भाग लिनेछन् । खेल लिग कम नक आउटका आधारमा खेलाइनेछ । प्रतियोगिताको निर्णयका लागि ३० जना निर्णायक मण्डल रहनुहुनेछ ।
