रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
मान्म (कालीकोट) । रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कूल रु ५६ करोड ६७ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार नगरपालिकाको १८ औँ नगरसभामा उपप्रमुख मनिराज बरालल पेस गरेकी हुन् । नगरपालिकाले प्रस्तुत गरेको कूल रु ५६ करोड ६७ लाख ५१ हजारको बजेटमध्ये सङ्घीय समानिकरण अनुदानतर्फ रु नौ करोड ७६ लाख, सशर्त अनुदान चालुतर्फ रु १८ करोड ८१ लाख र सशर्त अनुदान पुँजीगततर्फ रु १० करोड ४५ लाख रहेको छ । “सङ्घीय विशेष अनुदान रु ६१ लाख, समपूरक अनुदान रु दुई करोड ५९ लाख र राजस्व बाँडफाँटबापत रु सात करोड ९१ लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ”, उपप्रमुखले भनिन्, “प्रदेश सरकारका तर्फबाट रास्कोटले समानिकरण अनुदानमा रु एक करोड ३८ लाख ४६ हजार, सशर्त अनुदान चालुमा २२ लाख पाँच हजार, सशर्त अनुदान पुँजीगतमा रु एक करोड ५५ लाख, विशेष अनुदानमा रु ३५ लाख र समपूरक अनुदान पुँजीगततर्फ रु एक करोड १९ लाख प्राप्त गर्नेछ ।” प्रादेशिक राजस्व बाँडफाँटबाट रु १० लाख आर्जन हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।
