SHARE
Samata Press · आइबार​ ७ असार २०८३ ०७:०९ PM · 1 मिनेट पढाइ

जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका ऐतिहासिक व्यक्तित्वहरूको मूल्याङ्कन वस्तुगत र सन्तुलित ढंगले गर्नुपर्ने बताएकी छन् । श्री ३ महाराज जङ्गबहादुर राणाको २०९औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपाली राष्ट्रियता र जङ्गबहादुर’ विषयक प्रवचन कार्यक्रममा बोल्दै भण्डारीले इतिहास कुनै व्यक्तिको प्रशंसा वा आलोचनाको विषय नभई समय, परिस्थिति, उपलब्धि र तिनका प्रभावहरूको समग्र मूल्याङ्कन भएको बताइन् । उनले भनिन्, ‘इतिहास कुनै व्यक्तिको प्रशंसा वा आलोचनाको विषय होइन, बरु समय, परिस्थिति, उपलब्धि र तिनका प्रभावहरूको समग्र मूल्याङ्कन हो । त्यसैले, जङ्गबहादुर राणाको ऐतिहासिक भूमिका र योगदानलाई पनि हामीले वस्तुगत तथा सन्तुलित दृष्टिकोणबाट हेर्नुपर्दछ ।’ उनले नेपालको राजनीतिक अस्थिरता, षड्यन्त्र र शक्ति सङ्घर्षले ग्रस्त अवस्थामा जङ्गबहादुरको उदय भएको उल्लेख गर्दै उनले राज्य सञ्चालनलाई संस्थागत र व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखिन् ।