नयाँ सरकारले अर्थतन्त्र उकास्न सम्पूर्ण ध्यान केन्द्रित गरेको छ : अर्थमन्त्री वाग्ले
हेटौंडा (मकवानपुर) । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्र उकास्न र आर्थिक गतिविधिलाई गति दिन सम्पूर्ण ध्यान केन्द्रित गरेको बताएका छन् । आज हेटौंडामा नेपाल बैंक लिमिटेडको नवनिर्मित भवन तथा बागमती प्रादेशिक कार्यालयको उद्घाटन गर्दै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय रूपमा लागिरहेको उल्लेख गरे । उनले नेपाल बैंक लिमिटेडले स्थानीयस्तरका सेवाग्राहीलाई लक्षित गरी आर्थिक गतिविधि विस्तारमा थप योगदान पुर्याउनुपर्नेमा जोड दिए । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले बैंकमा हाल करिब रु ७०० अर्ब निक्षेप संकलन भएको जानकारी दिए । उनका अनुसार बैंकले रु २६० अर्ब कर्जामा तथा अन्य क्षेत्रमा रु १४० अर्ब लगानी गरेको छ । बैंकका ग्राहक संख्या २७ लाख पुगेको पनि उनले बताए । नेपाल सरकारको ५१ प्रतिशत सेयर रहेको नेपाल बैंक लिमिटेडले प्रचलित नीति–नियमअनुसार कारोबार सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले अत्याधुनिक डिजिटल सेवा विस्तारमा सार्वजनिक खरिद ऐनको जटिल प्रक्रियाले केही अवरोध सिर्जना गरिरहेको बताए ।
