SHARE
अर्थ संवाद · मङगलबार २३ बैशाख २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

एमबाप्पेको दुई गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौं । किलियन एमबाप्पेले दुई गोलसहित चम्किएपछि रियल म्याड्रिडले ला लिगामा आइतबार राति सेल्टा भिगोलाई ३–२ ले पराजित गरेको छ । यस जितले रियलले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी चार अंकमा झारेको छ, र अब ‘एल क्लासिको’लाई निर्णायक बनाएको छ ।सान्तियागो बर्नाबेउमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो ।  खेलको ३३औं मिनेटमा सर्ट कर्नरपछि प्राप्त बललाई युवा मिडफिल्डर अरडा गुलरले डिफ्लेक्सनमा गोल पोस्टको कुनामा पठाउँदै खाता खोले । त्यसको ६ मिनेटपछि, काउन्टर अट्याकको उत्कृष्ट समापनमा एमबाप्पेले गोलरक्षक गुआइतालाई छलाउँदै दोस्रो गोल थपे ।दोस्रो हाफको सुरुवातमै एमबाप्पेले गुलरको थ्रु पासमा दौडिँदै बाँया खुट्टाबाट पोस्टको कुनामा गोल गर्दै आफ्नो व्यक्तिगत दोहोरो गोल पुरा गरे ।तर पाहुना टोली सेल्टा भिगो पछाडि हटेन । खेल सकिन २० मिनेट बाँकी रहँदा जाभी रोड्रिग्वेजले गोल गर्दै अन्तर घटाए । ७६औं मिनेटमा स्वेडबर्गको गोलले खेललाई ३–२ मा ल्यायो । त्यसपछि पनि सेल्टाले बराबरीको प्रयास जारी राख्यो, तर गोलरक्षक कोट्र्वाले अन्तिम क्षणमा उत्कृष्ट बचाउ गर्दै रियलको अग्रता जोगाए ।