प्रतिपक्ष कमजोर छ भन्दैमा संवैधानिक सीमा नभत्काइयोस् : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफ्नो गणितीय बहुमतको आडमा संवैधानिक सीमा र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउन खोजेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लिङ्देनले सरकारका प्रारम्भिक लक्षणहरू ठिक नदेखिएको बताए । लामिछानेको भारत भ्रमण र सरकारको काम कारबाहीबारे केन्द्रित रहेको बैठकमा लिङ्देनले छलफलको सुरुवात हुनुलाई सकारात्मक भनेका छन् । ‘दलहरूबिच कुराकानी हुनु राम्रो हो, तर भारत भ्रमणमा जानुअघि नै यस्तो छलफल भएको भए अझ परिपक्वता देखिन्थ्यो र अनावश्यक टिप्पणी आउने वातावरण बन्दैनथ्यो,’ लिङ्देनले भने ।
