निजामती कर्मचारीलाई अब प्रदेशमै ‘सिभिल अस्पताल’को सेवा, सोमबारदेखि सुरु
काठमाडौँ । निजामती कर्मचारीले अब काठमाडौँस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)को स्वास्थ्य सेवा प्रदेश स्तरमै पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबारदेखि नै सेवा विस्तार गर्दै प्रदेश अस्पतालमार्फत कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई उपचार सुविधा उपलब्ध गराउने जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यका बाहिर कार्यरत निजामती कर्मचारीको सहजताका लागि प्रदेश अस्पतालसँग सहकार्य गरी सेवा विस्तार गरिएको हो । सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रदेश स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको बताइन् । पहिलो चरणमा मधेस प्रदेशका लागि वीरगन्जस्थित नारायणी अस्पताल र बागमती प्रदेशका लागि भरतपुर अस्पतालमार्फत सेवा प्रदान गरिनेछ । आइतबार भएको सम्झौतापछि सोमबारदेखि नै सेवा सुरु हुने मन्त्रालयले जनाएको छ । सेवा लिनका लागि निजामती कर्मचारी वा अवकाशप्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ। मन्त्रालयका अनुसार अन्य प्रदेशमा पनि सेवा विस्तारका लागि तयारी भइरहेको छ र केही दिनमै देशभरका तोकिएका अस्पतालमार्फत सहुलियतसहितको उपचार सेवा उपलब्ध गराइनेछ ।
