SHARE
मेट्रो न्युज काठमाडौं · शुक्रबार​ २५ बैशाख २०८३ १२:०३ AM · 1 मिनेट पढाइ

'सामुदायिक र संस्थागत विद्यालयका विच सिकाइ र क्षमता आदान प्रदान गर्न ‘काठमाडौँ स्कूल पार्टनरसिप कार्यक्रम’ सञ्चालन गर्दैछौँ ' - कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, यस शैक्षिक सत्रबाट सामुदायिक र संस्थागत विद्यालयका बिचमा सम्बन्ध विकास गरेर आपसी सिकाइ र क्षमता आदान प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न थालनी गर्ने बताउनुभएको छ । शिक्षा विभागले आइतबार राष्ट्रिय सभा गृहमा सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, स्रोत शिक्षक र महिला शिक्षकका लागि आयोजना गरेको विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधार लगायतका विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।  ‘हामीले शिक्षामा लगानी बढाएका छौँ । यो लगानी दक्ष जनशक्ति निर्माणका लागि हो । प्रतिफल तत्काल नदेखिन सक्छ । तर, प्राप्त उपलब्धि दिगो हुनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘विद्यालयबाट माग भएका विषयप्रति हामी सकारात्मक छौँ । तर सबैभन्दा पहिले, उपलब्ध भौतिक पूर्वाधार, स्रोत, साधन र जनशक्तिको उच्चतम उपयोग भएका सुनिश्चित हुनुपर्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘यहाँ माग्ने र दिने होइन । जिम्मेवारी फरक हो । तर, हाम्रो जिम्मेवारी समान छ । सबै मिलेर गुणस्तर सुधार गरौँ ।’ आइतबार विद्यालय छुट्टी विषयमा अन्यौल नहुन विद्यालयहरुलाई आग्रह गर्दै उहाँले, पाठयक्रम पूरा हुने र थालिएका अन्य क्रियाकलाप पनि नियमित सञ्चालन गर्ने विषयमा छिट्टै वैज्ञानिक समाधान दिइने बताउनुभयो ।  शिक्षकहरुबाट महानगरपालिकाले गरेको अपेक्षाका विषयमा कुरा गर्दै शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले भन्नुभयो, ‘आफ्ना नानीबाबुलाई अध्ययन गराउने सकिने स्तरको विद्यालय बनाइदिनु पर्छ भन्ने हो । आफूले अध्यापन गराउने विद्यालयको स्तरमा चित्त नबुझेर छोराछोरी संस्थागत स्कूलमा पठाउनु नपरोस् । हाम्रो अपेक्षा यत्ति हो ।’ उहाँको भनाइ थियो ।  महानगरपालिकाको शिक्षा नीतिमा सुधार गर्न विज्ञ र नीति कार्यान्वयनकर्ताको अपेक्षा वुझेर काम गर्नेछौँ । उहाँको भनाइ थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं