अव्यवस्थित बस्ती खाली गराइएको ठाउँको संरक्षणका लागि निकायगत समन्वय गर्न र तारबारको काम थाल्न कार्यवाहक प्रमुखको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिनुभएको छ । थापाथलीस्थित वागमती नदी किनारामा शनिवार खाली गराइएको स्थानको निरीक्षण गर्दै उहाँले आइतबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई अहिले तथा यसपछि खाली गराइने ठाउँहरुको सुरक्षा र संरक्षणका लागि तारबार लगाउन अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागबाट तारबार लगाउने काम थाल्न निर्देशन दिनुभएको हो । आइतबार कार्यवाहक प्रमुख डंगोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको निरीक्षण गर्नुभएको थियो । अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनलाई यी भवनहरुमा राख्ने योजना छ । नदी किनाराका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत संरचना बनाएर राखिएका वस्ती खाली गराउने क्रममा वागमती नदी खण्डको थापाथली क्षेत्रको वस्ती बैशाख १२ गते खाली गराइ सकिएको छ । यसका लागि महानगरपालिकाभित्र भएका अनधिकृत वस्ती बसोबास गरिरहेका व्यक्ति आफैँलाई खाली गराउन विहीबारदेखि माइकिङ गरेर सूचित गरिएको थियो । यसरी जारी गरिएको सूचनाको पालना गर्दै शुक्रबार केही परिवारले आफैँ घर टहरा खाली गराउनुभयो । यसरी आफैँ घरटहरा खाली गराउने क्रम शनिवार विहानसम्म पनि जारी थियो । यो अवस्था देखेपछि स्थानीय प्रशासनले विहान ६ बजेदेखि घरटहरा भत्काउने कार्यक्रम पछि सारेर आफैँ खाली गर्ने अवसर प्रदान गरेको थियो । करिब ८ बजेबाट संरचना हटाउन थालिएको थियो ।
