SHARE
मेट्रो न्युज काठमाडौं · बुधबार ९ बैशाख २०८३ १२:०२ AM · 1 मिनेट पढाइ

राष्ट्रिय योगदान दिने ३२ जना वडावासीलाई वडा कार्यालय २७ बाट सम्मान 

काठमाडौँ । वडामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान दिने ३२ जना विशिष्ठ व्यक्तिहरुलाई वडा २७ ले सम्मान गरेको छ । नेपाल व्यायाम मन्दिरमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य, शिक्षा, सामाजिक विकास, गायन, वादन, खेलकुद क्षेत्रमा योगदान गर्ने १९ जना व्यक्तित्व हुनुहुन्थ्यो । यस्तै ५ जना सामाजिक व्यक्तित्व र ८ जना पूर्व वडाध्यक्षहरुलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो । उहाँहरुलाई महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, वडाध्यक्ष योगेशकुमार खड्गीले माला, दोसल्ला तथा प्रमाण पत्रबाट सम्मान गर्नुभयो ।  मरणोपरान्त सम्मान प्रदान गरिएका वडाध्यक्षहरुमा साधना प्रधान, भुवनलाल प्रधान, गोपालदास मानन्धर, हरिनारायण महर्जन, हरिबहादुर श्रेष्ठ, सागर मिश्र, अमरविरसिंह तुलाधर र कृष्ण नारायण श्रेष्ठ हुनुहुन्छ । साधना प्रधान पहिलो निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो । भुवनलाल प्रधान इतिहासकार हुनुहुन्थ्यो ।  उहाँहरुलाई सम्मान गर्दै कार्यवाहक प्रमुख डंगोलले, समाजको सन्तुलित विकासका लागि वडाले गरेका कामको प्रशंशा गर्नुभयो । ‘स्वास्थ्य, शिक्षा, खेलकुद, संस्कृति तथा सम्पदाको संरक्षण, सहरी विकास र व्यवस्थापनका हरेक आयाममा वडाको समान दृष्टि छ । यो अनुकरणीय दृष्टि हो ।’ उहाँले भन्नुभयो, ‘नागरिकका माझमा बसेर योजना बनाउने तथा सेवा प्रवाह गर्ने वडाका जनप्रतिनिधि र कर्मचारीको कार्यशैलीको म प्रशंशक हूँ । ’ ‘कर्मका सिलसिलामा विभिन्न क्षेत्रमा पुगे पनि वडामा जन्मिएका विशिष्ठ व्यक्तित्वहरुलाई सम्मानित गरिएको हो ।’ वडाध्यक्ष योगेश कुमार खड्गीले भन्नुभयो, ‘आपसमा सद्भाव र सहरी सेवा सुविधामा समान पहुँच प्रदान गर्न हामी निरन्तर काम गरिरहेका छौँ ।’ ‘अग्रजलाई गरिने सम्मानबाट नयाँ पुस्तालाई केही गर्नु पर्छ भन्ने सन्देश प्रवाह हुन्छ भन्ने आशा गरेका छौँ ।’ वडा सदस्य सृष्टि कंसाकारले भन्नुभयो, ‘वडामा हुर्किएका अग्रजहरुको संघर्ष र योगदान पुस्ताहरुका लागि अनुकरणीय छ ।’ वडाले यसप्रकारको सम्मान कार्यक्रम २०७९ सालबाट थालेको हो । पहिलो वर्ष १५ जनालाई सम्मानित गरिएको थियो । दोस्रो वर्ष १४ जना, तेस्रो वर्ष २० जनालाई सम्मानित गरिएको थियो ।   यस वर्ष औषधि उद्योगी महेश प्रधान, समाजशास्त्री रिना बनियाँ, हवइ उड्डयन क्षेत्रका मनिषरत्न शाक्य, द्वारिकाप्रसाद राजभण्डारी र रवि कंसाकार, वनस्पतिशास्त्री स्वयम्भूरत्न तुलाधर हुनुहुन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं