अस्पतालका क्यान्टिनको खाद्य स्वच्छताका लागि सञ्चालकलाई महानगरपालिकाबाट तालिम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अस्पतालभित्र सञ्चालन हुने चमेना गृह, भोजनालय र क्यान्टिनलाई सुरक्षित, स्वच्छ र उपभोक्तामैत्री बनाउन खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरेको छ । कृषि तथा पशुपन्छी विभागले ‘फूड सेफ्टी बुट क्याम्प’ अन्तर्गत क्षमता विकास कार्यक्रम सञ्चालन गरेको हो । अस्पतालहरुमा चलाइएका क्यान्टिनहरूमा सरसफाइ र स्वच्छता कायम गराउन, खानाको गुणस्तर कायम गराउन, खानालाई सुरक्षित भण्डारण गर्ने सिप प्रदान गर्न तालिम दिइएको हो । तालिममा महानगरभित्रका ५७ अस्पतालका ५९ क्यान्टिनबाट ७४ जनाको सहभागिता थियो । अन्तरक्रियात्मक छलफल र अनुभव आदानप्रदान तालिमको विधि थियो । विभागले नियमित अनुगमनका क्रममा क्यान्टिनहरुमा सरसफाइ, स्वच्छता र खाद्य गुणस्तरमा विभिन्न समस्या भेटेको थियो । अनुगमनका क्रममा भेटिएको काँचो र पाकेका खाना सँगै राखिने, खाना खुला राखिने तथा किट नियन्त्रण कमजोर हुने अवस्थाले बिरामी र सेवाग्राहीको स्वास्थ्यमा जोखिम बढाएको अवस्थामा सुधार ल्याउनु तालिमको अपेक्षित नतिजा हो । विभागका प्रमुख नुरनिधि न्यौपानेले खाद्य स्वच्छतामा सरकार र व्यवसायी दुवैको समान भूमिका रहने उल्लेख गर्दै दुवैको सहकार्यबाट मात्रै स्वच्छता कायम गर्न सकिने बताउँदै स्वच्छता सुनिश्चित गर्न तालिमले सहयोग गर्ने बताउनुभयो । ‘हामीले अहिले तालिम दियौँ । एक महिनापछि अनुगमन गर्छौँ । तालिममा दिएको ज्ञान र सिप व्यवहारमा देखिएन भने कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।’ उहाँले थप्दै भन्नुभयो, ‘हामी कसैलाई कारवाही गर्नु नपरोस् भन्ने चाहन्छौँ । क्षमता विकासमा सहयोग गर्दागर्दै पनि सुधार आएन भने कानुनी कारवाही गर्नुको विकल्प रहँदैन ।’ महानगरका खाद्य स्वच्छता विज्ञ सल्लाहकार जीवनप्रभा लामाले कानुनी कारवाहीमा जानु अघि सचेतनामूलक कार्यक्रमबाट व्यावसायीलाई खाद्य स्वच्छताप्रति कानुनी, प्रशासनिक तथा व्यावहारिक ज्ञान दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । प्रशिक्षक नविन कर्माचार्यका अनुसार खाद्य स्वच्छतामा जैविक, रसायनिक र भौतिक जोखिमबाट बचाउने उपाय जान्न सके र जानेको कुरा व्यवहारमा उतार्न सके खाद्य स्वच्छतामा गुणात्मक सुधार हुनेछ ।
