‘भेहिकल फ्री असन’ २०८३ बैशाख ५ गतेबाट सुरु
काठमाडौँ । काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिवार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ । यस अघि स्थानीयब संघसंस्था, क्लव तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन गर्ने तयारी थियो । यस क्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभागका प्रमुख महेश काफ्लेसहित सरोकारवाला कार्यालयका अधिकारी, स्थानीय संघसंस्था तथा क्लव र समुदायका प्रतिनिधिसहितको बैठकले तयारीमा कमजोरी हुन नदिन कार्यक्रमलाई एक हप्ता पछाडि सारेर बैशाख ५ गतेबाट कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो । ‘असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो । यसको प्राचीन र सांस्कृतिक महत्व जोगाउनु हाम्रो दायित्व हो ।’ वैठकमा कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘वडा कार्यालयको नेतृत्व, सरोकारवाला र साझेदारहरुको सहभागिता र स्थानीय अपनत्वमा कार्यक्रम प्रारम्भ गरौँ । थालिएको कामलाई दिगो बनाऔँ ।’ आवागमन र स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ थियो । ‘स्थानीय, संघसंस्था, क्लव तथा समुदायको साथमा वडाले कार्यक्रम अगाडि बढाएको हो ।’ वडाध्यक्ष योगेशकुमार खड्गी भन्नुहुन्छ, ‘कार्यक्रमले असन बजारको मौलिकतासँगै वायु प्रदुषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान गर्नेछ ।
