महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न : विविधसहित २७ वटा विषयमा छलफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । आज काठमाडौँ प्लाजाको सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा विविधसहित २७ वटा प्रस्ताव कार्यसूचीमा थिए । वैठकको प्रारम्भ गर्दै कार्यवाहक प्रमुख डंगोलले, सहरी विकास र विकास व्यवस्थापनका मुद्दामा नेपाल सरकार र काठमाडौँ महानगरपालिकाका बिच समन्वय र सहकार्यमा सहज परिस्थिति निर्माण भएको बताउनुभयो । काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र शाह (बालेन) नेपाल सरकारको प्रधानमन्त्री, सहरी विकास र व्यवस्थापनमा विज्ञका रुपमा महानगरपालिकाका काम गर्नुभएका सस्मित पोखरेल शिक्षा मन्त्री र सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनुभएकोमा वधाई ज्ञापन गर्दै स्थानीय सरकार राम्ररी वुझेका व्यक्तित्वहरु नेपाल सरकारको प्रधानमन्त्री र मन्त्री पदमा रहनुभएकोले समन्वय र सहकार्यका लागि सहज भएको उहाँको भनाइ थियो । यसकारण, काठमाडौँको प्रतिष्ठा बढेको छ । यो काठमाडौँको समृद्धिका लागि अवसर पनि हो । उहाँको भनाइ थियो । वैठकका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, ४७ औँ कार्यपालिका वैठकले गरेका निर्णय कार्यान्वयन अवस्थाका विषयमा जानकारी गराउनुभएको थियो । प्रवक्ता नविन मानन्धरले, कार्यालय प्रयोजनका लागि खर्च गरिँदै आएको इन्धनमा अत्यावश्यक कार्यमा प्रयोग हुने वाहेकका सवारी साधनका लागि प्रदान गरिँदै आएकाबाहेकमा कटौती गर्न र महंगी बढ्न नदिन प्रभावकारी अनुगमन सम्बन्धी प्रस्ताव राख्नुभएको थियो । यो प्रस्ताव सान्दर्भिक रहेको बताउँदै कार्यवाहक प्रमुख डंगोलले, प्रस्तावलाई बैठकमा निर्णयार्थ पेश गर्नुभएको थियो । यो प्रस्तावलाई वैठकले पारित गरेपछि डंगालले भन्नुभयो, भूराजनीतिका कारण इन्धन आपूर्ति कम भएको उल्लेख गर्दै इन्धनको मात्रामा कटौती गर्ने, इन्धनबाट चल्ने सवारी साधनको प्रयोग घटाएर विद्युतीय सवारी साधनको प्रयोग बढाउने निर्णय कार्यान्वयन गरिने बताउनुभयो । वैठकमा भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले, काठमाडौँ प्लाजाको भोगाधिकार काठमाडौँ महानगरपालिकालाई प्रदान गर्न नेपाल सरकारलाई लेखि पठाउने प्रस्ताव गर्नुभएको थियो । यससँगै वहुउद्देश्यीय भवन निर्माण गर्न नेपाल सरकारसँग भृकुटी मण्डपको भोगाधिकार प्राप्त गर्न माग गर्ने, राष्ट्रिय सभा गृह पुनःनिर्माण गर्ने तण्डुकारको प्रस्ताव थियो । प्रस्तावमा छलफल गर्दै यस कार्यको समन्वय र सहजीकरण गर्ने जिम्मेवारी तण्डुकारलाई प्रदान गरिएको छ । वैठकमा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, वडा स्तरीय सरसफाइका लागि कर्मचारीको अभाव भएकोले यसलाई व्यवस्थापन गर्ने कामलाई प्राथमिकता दिनु पर्ने बताउनुभयो । स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले, काठमाडौँको पार्किङ् व्यवस्थापनको अध्ययन गर्नु पर्ने सुझाव दिनुभयो ।
