स्तन, पाठेघरको मुख तथा सर्भाइकल क्यान्सर निःशुल्क परीक्षण सुरु : जाँचका लागि पहिलो दिन १३६ जनलाई रिफरल स्लिप
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा आजदेखि महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण थालेको छ । पहिलो दिन जाँचका लागि स्वास्थ्य प्रवर्धन केन्द्रबाट १३६ जनाले रिफरल स्लिप लिएर वीर अस्पताल जानुभएको छ । उहाँहरुमध्ये ५ जनाको परिवारमा स्तन क्यान्सर र ३ जनाको परिवारमा सर्भाइकल क्यान्सरको हिस्ट्री छ । शुभारम्भ अवसरमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले पनि स्वास्थ्य जाँच गराउनुभएको छ । त्यस क्रममा बोल्दै उहाँले भन्नुभयो, ‘समयमा पत्ता लगाउन सकिएन भने क्यान्सरले जीवन लान्छ । आर्थिक अवस्था र घर परिवारलाई कमजोर बनाउँछ । जाँच गरेर समयमा क्यान्सर परिहान गर्न सकियो भने उपचार सरल र कम खर्चिलो हुन्छ । जीवन बचाउन सकिन्छ ।’ उहाँले शिक्षा र सचेतनाको कुरा गर्दै भन्नुभयो, ‘घरमा महिलाहरु परिवारका सदस्य विरामी पर्नुहोला कि भनेर चिन्तिच हुनुहुन्छ । तर, आफैँ स्वास्थ्य जाँच गराउन भने ख्याल गर्नुह्ुन्न । यसकारण महिलाहरुलाई आफ्नो पनि स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्दछु ।’ क्यान्सरले परिवार र आर्थिक अवस्थालाई भविष्यसम्म पनि अप्ठ्यारो पार्ने भएकोले धेरैभन्दा धेरै महिलाहरुको क्यान्सर परीक्षण गराएर सम्भावित जोखिम कम गराउने प्रयास गरिरहेको कार्यवाहक प्रमुख डंगोलको भनाइ छ ।
