पानी पर्ने मौसम सुरु हुनु अघि कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न कार्यवाहक प्रमुखको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खा याम सुरु हुनु अघि कुमारी वहाल (कुमारी घर) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिनुभएको छ । आज छानो जीर्णोद्धार कार्यको अनुगमन गर्र्दै उहाँले, कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुने गरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिनुभएको हो । बोलपत्रमार्फत छानिएको निर्माण पक्ष अजय निर्माण सेवासँग फागुन ११ गते सम्झौता गरेर फागुन २५ गतेदेखि जीर्णोद्धारको काम सुरु भएको हो । सम्झौता अवधि २०८३ माघ ३० गतेसम्म छ । आर्थिक वर्ष २०८२/८३ को दररेट राखेर जीर्णोद्धारका लागि प्रयोग हुने झिँगटी, काठ लगायतका छानासँग सम्वन्धित अवयवहरुको जीर्णोद्धार गर्न १ करोड २५ लाख ४७ हजार ८६४ रुपियाँ लागत अनुमान गरिएको थियो । खुला प्रतिस्पर्धाबाट छानिएको निर्माण पक्षले ७१ लाख २४ हजार ६८९ रुपियाँमा निर्माण कवोल गरेको छ । अनुगमनमा क्रममा कार्यवाहक प्रमुख डंगोलले, कुमारी वहाल काठमाडौँको अनुहार भएको उल्लेख गर्दै यसको छानो चुहिएको सूचना पाएपछि चासो राखेर महानगरपालिका जीर्णोद्धारका लागि आएको बताउनुभयो । ‘जीर्णोद्धार सुरु हुनु अघि सरोकारवाला तथा स्थानीयसँग पटक पटक छलफल गरेपछि प्राविधिक अध्ययन गर्यौँ । कानुनी र प्रशासनिक प्रक्रियाका विषयमा छलफल गर्यौँ । यस क्रममा प्राप्त भएको प्राविधिक प्रतिवेदन र साझेदारसँगको सहमतिका आधारमा काम थालनी गरिएको हो । सार्वजनिक महत्वको यस कामलाई सफल बनाउन सबै एकै ठाउँमा उभिनुपर्छ ।’ उहाँको भनाइ थियो । अनुगमनका क्रममा जीर्णोद्धार गर्दा कुमारी घरबाट दैनिक सञ्चालन हुने धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्ष, अन्य भौतिक संरचनासँगका छानाको सम्बन्ध र छानो मर्मत गर्दा अन्य संरचनाको वचावटका विषयमा सहभागी सरोकारवाला र स्थानीयसँग कुराकानी भएको थियो । नियमित निगरानीबाट समयमा काम सम्पन्न गर्न सहजीकरण गर्नेछौँ ।
