इन्धन लगायतका निर्माण सामाग्रीको भएको भारी मूल्यवृद्धिप्रति महासंघको गम्भीर ध्यानाकर्षण
काठमाडौं । मध्यपूर्व र पश्चिम एशियामा देखिएको युद्धको परिवेशको कारण देखाउँदै निर्माण उद्योगमा अत्यधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामग्रीहरूमा भएको भारी मूल्यवृद्धिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । ‘निर्माण कार्य हुने अहिलकै सिजनमा इन्धन सामग्रीहरूमा भएको भारी मूल्यवृद्धिले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार पर्नुका साथै पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिने निश्चित छ’ महासंघका महासचिव रोशन दाहालद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । इन्धन सामग्रीहरूमा भएको भारी मूल्यवृद्धि बाहेक हालै निर्वाचनको मौका पारेर नेपालमा सिमित आयातकर्ताहरूले कार्टेलिङ गर्दै सडक निर्माणमा प्रयोग हुने बिटुमिनको पनि कृत्रिम अभाव सिर्जना गरी निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक समस्यामा पारेको महासंघको दाबी छ । महासंघका अनुसार सडक कालोपत्रे सुरु भएपछि बिटुमिनको अभाव हुँदा कालोपत्रे गर्न ठिक्क पारिएको सडकमा थप क्षति हुने सम्भावना प्रबल भएको र बुकिङ गर्दाको मूल्यभन्दा अहिले प्रतिलिटर ४० रुपैयाँसम्म मूल्य वृद्धि हुँदा निर्माण व्यवसायीहरू दोहोरो पीडामा परेका छन् । अझ पछिल्लो समय भारतले बिटुमिनको निर्यात बन्द गरेका कारण मुलुकको निर्माण उद्योग थप प्रताडित भएको महासंघको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनकै माहोलबीच सिमित उद्योगीहरूले फलामे डन्डी र सिमेन्टमा पनि मूल्य वृद्धि गर्दा सरकारी पूर्वाधार मात्र होइन निजी क्षेत्रको पूर्वाधारमा पनि ठूलो आर्थिक भार थपिएको महासंघको भनाइ छ ।
