अरुणिमा शिक्षा सदन मा.वि.को अभिभावक दिवस सम्पन्न
फागुन ०४, काठमाडौं बौद्ध, महाङ्कालस्थित अरुणिमा शिक्षा सदन माध्यमिक विद्यालयले विद्यार्थीहरूको विविध आर्कषक प्रस्तुति सहित अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नर्सरीदेखि कक्षा ९ सम्मका बालबालिकाहरुले लोक तथा आधुनिक नृत्य, गायन, अर्केस्ट्रा, योग, तेक्वान्दो र चेतना–मूलक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार त्रिलोचन आचार्यले अबको शिक्षा प्रणालीले परोपकारी, भविष्यप्रति आशावादी र विभेदरहीत समाज निर्माण गर्ने नागरिक तयार पार्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपस्थितहरूलाई स्वागत गर्दै विद्यालयकी प्राचार्य शोभा खनालले विद्यालयको शैक्षिक उपलब्धी, प्रशासनिक व्यवस्थापन तथा अतिरिक्त क्रियाकलाप र विद्यालयले प्रदान गर्दै आएका सुविधाहरु सहित आगामी योजनाबारे जानकारी गराउनुभएको थियो । अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुङ्गानाले प्रतिष्ठान विशुद्ध शैक्षिक गुठी भएकाले समय सापेक्ष गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको बताउनुभयो ।
