४ वटा सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालबालिकाहरुमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरुमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसको प्रारम्भ ४ वटा सामुदायिक विद्यालयहरुमा नमूना कार्यक्रममार्फत हुनेछ । बुधबार ‘साना डाक्टर सम्बन्धी १ दिने कार्यशाला’मा यसको अवधारणा, कार्यक्रम सञ्चालन रणनीतिका विषयमा छलफल भएको छ । कार्यशालामा जनप्रतिनिधिहरु, शिक्षा तथा स्वास्थ्य समितिका पदाधिकारी, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र हेर्ने महानगरपालिकाका विभागीय प्रतिनिधि, विद्यालय नर्ससहित साझेदार सहभागी हुनुहुन्थ्यो । कार्यशालामा बोल्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, स्वास्थ्य सचेतना अभिवृद्धि गर्न र बालबालिका बिचको सहसिकाइका लागि यो विधि उपयुक्त भएको उल्लेख गर्नुभयो । उहाँले अधिकारीहरुलाई भन्नुभयो, ‘विद्यालयमा कार्यक्रम लैजाँदा कार्यान्वयन गर्नेलाई बोझ महसुस हुने गरी लैजानु हुँदैन । आवश्यक छ । जसरी पनि कार्यान्वयनमा जानु पर्छ भन्ने तत्परता जागृत गराउनुपर्छ । अनि मात्र कार्यक्रम दिगो र प्रभावकारी हुन्छ । यसको नतिजा ढिलो देखिन्छ । तर, सकारात्मक हुन्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘सामुदायिक विद्यालयहरुमा सफल बनाएर संस्थागत विद्यालयहरुमा पनि विस्तार गर्नुपर्छ ।’ विद्यालयहरुमा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम पनि चाहिएको छ । शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले भन्नुभयो, ‘सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सकारात्मक प्रतिस्पर्धाका लागि आत्मविश्वाशयुक्त बनाउनु पर्नेछ । यसका लागि पुस्तकरहित शुक्रबारका कार्यक्रमभित्रका कार्यक्रमको प्रभावकारी सिकाइका लागि थप मिहनेत गर्नुपर्नेछ ।
