महाशिवरात्री पर्वको भव्यताका लागि कार्यवाहक प्रमुख डंगोलको अध्यक्षतामा समन्वय बैठक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शिवरात्री पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन साझेदार कार्यालयका प्रमुख तथा अधिकारीहरु बोलाएर समन्वय बैठक आयोजना गरेको छ । शिवरात्री पर्व लक्षित यसप्रकारको समन्वय बैठक महानगरपालिकाले पहिलो पटक डाकेको हो । आज महानगरपालिकामा आयोजित बैठकको अध्यक्षता गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘हरेक उत्सवपछिको समीक्षामा यसो गर्न पाएको भए हुन्थ्यो । भन्ने गरिन्छ । यसपटक त्यस्तो गुनासो गर्नु नपरोस् भनेर समन्वय बैठक गरिएको हो ।’ बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराई, उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कोषाध्यक्ष श्रीधर सापकोटा, जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक कौशलकुमार बुढाथोकी, गुठी संस्थानका प्रशासक शैलेशराज कुँवर, वडाध्यक्ष विमलकुमार होडा, महानगरपालिकाका विभागीय प्रमुखहरु, पुरातत्व विभागका अधिकारी, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटीसहित क्षेत्रका सहभागी हुनुहुन्थ्यो ।
