राप्रपाको संकल्प पत्र : ‘पृथ्वीपथ’ राष्ट्र निर्माणको मौलिक मार्गचित्र
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीे (राप्रपा)ले संकल्प पत्र सार्वजनिक गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी संकल्प पत्र सार्वजनिक गरेको हो । शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीस्थित संकल्प पत्र सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा मुलुक निर्माणको मौलिक मार्गचित्र बोकेर अघि बढीरहेको राष्ट्रवादी प्रजातान्त्रिक दल रहेको दाबी गरे । लिङ्देनले राप्रपा मुलुकको आन्तरिक मामलामा कुनैपनि प्रकारको वैदेशिक हस्तक्षेपलाई स्वीकार नगर्ने, मुलुकमै जन्मिएको र मुलुकको सर्वोपरि हितमा समर्पित राष्ट्रवादी चरित्र बोकेको राजनीतिक दल रहेको दाबी गरेका हुन् । ‘राप्रपा मुलुक निर्माणको मौलिक मार्गचित्र बोकेर अघि बढीरहेको राष्ट्रवादी प्रजातान्त्रिक दल हो । राप्रपाले आफ्नो मौलिकता र वीर पुर्खाले आर्जेको इतिहासमाथि गौरव गर्दै विगतको सकारात्मकताको निरन्तरता सहित समयानुकूल परिवर्तनको पक्षमा उभ्याउदै आइरहेको छ’, उनले उल्लेख गरेका छन्, ‘मुलुक र माटो सुहाउँदो व्यवस्थाको पक्षपाती राप्रपा मुलुकको आन्तरिक मामलामा कुनैपनि प्रकारको वैदेशिक हस्तक्षेपलाई स्वीकार नगर्ने, मुलुकमै जन्मिएको र मुलुकको सर्वोपरि हितमा समर्पित राष्ट्रवादी चरित्र बोकेको एकमात्र राजनीतिक दल हो ।’ अध्यक्ष लिङ्देनले मुलुक राजनीतिक अस्थिरता, सामाजिक द्वन्द्व, आर्थिक सङ्कट, नीतिगत भ्रष्ट्राचार र असन्तुलित वैदेशिक नीतिबाट प्रताडित भइरहेको उल्लेख गरे । विगतको साँढे तीन दशकलाई हेर्ने हो भने मुलुकको राजनीतिक दल र नेताको विकासका लागि भयो तर देश र जनताका विकासका नभएको उनले बताए । सार्वजनिक गरिएको संकल्प पत्रमा नेपाल बन्द कहिल्यै नगर्ने घोषणा गरिएको छ ।
