कक्षा ११ र १२ को छात्रवृत्तिको मनोनयन सुची सार्वजनिक, पहिलो चरणमा ३ हजार ३६१ जना १४० शिक्षण संस्थाका लागि छनोट
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको पहिलो मनोनयन सूची सार्वजनिक गरेको छ। पहिलो चरणमा ३,३६१ विद्यार्थी छनाेट हुनु भएकाे छ । मनोनयन भएका विद्यार्थीले साउन ९ गते भित्र तोकिएको शिक्षण संस्थामा भर्ना हुनुपर्ने विभागले जनाएकाे छ । परीक्षामा उत्तीर्ण भई पहिलो चरणमा मनोनयन हुन नसकेका परीक्षार्थीहरुलाई पहिलो चरणमा मनोनयन भएका विद्यार्थीले मिति २०८२।०४।०९ गतेसम्ममा भर्ना नभई रिक्त रहेका सिटसमेतमा योग्यताक्रमकै आधारमा दोस्रो चरणमा मनोनयनका लागि मिति २०८२।०४।१० गतेपश्चात सूचना प्रकाशन गर्ने शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीले बताउनु भयाे । महानगरपालिकाको शिक्षा विभागका अनुसार, २०८२/०४/०३ मा ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४,१७३ विद्यार्थी सहभागी हुनुहुन्थ्याे । तीमध्ये १०,८६७ जनाले न्यूनतम ४०% (४० अङ्क) प्राप्त गरी उत्तीर्ण गर्नु भएकाे थियाे । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजीबाट ३०-३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्न समावेश थिए। नकारात्मक अङ्कनको व्यवस्था थिएन। देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी परीक्षाका लागि छनोट हुनु भएकाे थियाे । प्रारम्भिक नतिजा २०८२/०४/०४ मा र समूहगत/विषयगत अन्तिम योग्यताक्रम २०८२/०४/०६ मा प्रकाशित भएको थियो।
