घर वहाल नतिर्ने ८ वटा सहकारीलाई काठमाडौँ महानगरपालिकाको ७ दिने अल्टिमेटम
काठमाडौँ । ८ वटा सहकारी संस्थाहरुलाई ७ दिनभित्र घरवहाल तिर्न समय दिँदै काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेको छ । कानुन तथा मानव अधिकार विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका, न्यायिक समितिबाट घर कोठा खाली गर्ने भनी भएका निर्णयहरूमध्ये सहकारी संघसंस्थाले बहालमा लिएका घर कोठा खाली गर्ने सम्बन्धी मिति २०८२/१०/१५ मा निर्णय कार्यान्वयन समितिको बैठकमा भएको निर्णय अनुसार यो सूचना प्रकाशन गरिएको छ ।’ ‘सूचनामा विवरण भएका सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति, लेखा सुपरीेक्षण समिति) कर्मचारी तथा संस्थाका सदस्यहरूले यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्रमा काठमाडौँ महानगरपालिका, कानून तथा मानव अधिकार विभागमा सम्पर्क गर्नुहोला । तोकिएको समयभित्र सहकारी संस्थाका पदाधिकारी, कर्मचारी, सदस्य सम्पर्कमा नआएमा सहकारीले बहालमा लिएका घर कोठा न्यायिक समितिको निर्णयानुसार खाली गरिनेछ ।’ सूचनामा भनिएको छ, ‘उक्त घर कोठा खाली गर्दा सहकारी कार्यालयका सामानहरू सम्बद्ध घरधनीको जिम्मामा दिइनेछ । पछि सहकारीका सम्पत्ति, सरसामान सम्बन्धमा कुनै दाबी विरोध नलाग्ने व्यहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ ।
