SHARE
मेट्रो न्युज काठमाडौं · आइबार​ २५ माघ २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

यमरीलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न समुदाय सहमत

काठमाडौँ । नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यमरीलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न समुदायमा रहेका विभिन्न संघसंस्थाहरुले एउटै मत राखेका छन् । बुधबार काठमाडौँ महानगरपालिकाको सभा कक्षमा आयोजित सम्पदा तथा पर्यटन समितिका पदाधिकारी र समुदायका प्रतिनिधि बिचको छलफलमा यस्तो साझा स्वर आएको हो ।  ‘हरेक शुभकार्यसँग जोडिएको यमरीको महत्व र पहिचानलाई राष्ट्रियकरण गर्दै अभौतिक युनेस्कोको अभौतिक सम्पदा विधामा सूचीकृत गराउनु अन्तरराष्ट्रियकरणको प्रक्रिया हो । यसले नेपालकै पहिचान वृद्धि हुन्छ ।’ छलफलमा समितिका संयोजक आशामान संगतले भन्नुभयो, ‘यमरी बनाउने परम्परा खाद्य परिकार मात्र होइन । यसले प्रकृति, कृषि पेशा, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षसँग गहिरो सम्बन्ध राख्छ ।  यमरीसँगै अनगिन्ती अभौतिक सम्पदामा सूचीकृत गर्नुपर्नेछ । यसले सम्पदाको एकीकृत विकासमा टेवा दिन्छ ।’ समितिले अमूर्त सांस्कृतिक सम्पदाको पहिचान, अध्ययन, अभिलेखन, विकास र प्रवर्धनलाई पहिलो प्राथमिक कार्यक्रममा राखेर काम गरिरहेको उहाँको भनाइ थियो । त्यस क्रममा समितिका सदस्य एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, सूचीकृत हुने प्रक्रियालाई निर्धारित समयभित्रै सक्नु पर्नेमा जोड दिनुभयो । ‘महानगरपालिकाका पुराना सहरी क्षेत्रका चोक चोकमा, गुठीगुठीमा, हरेक संस्कार र परम्परामा अमूर्त सम्पदा छन् ।’ उहाँले, यस्ता सम्पदाको गरिमा प्रवर्धनमा सबै मिलेर काम गर्नु पर्ने बताउनुभयो । यमरीको गरिमालाई स्थानीय स्तरमा पनि प्रवर्धन गर्नुपर्ने, परम्परागत जोगाउन अभिमुखीकरण र प्रशिक्षण सञ्चालन गरिनुपर्ने महर्जनको भनाइ थियो ।  यस्ता छलफल र अन्तरक्रियालाई नियमितता दिइने, त्यस्ता कार्यक्रममा समुदायका अगुवाहरुको सुझाव र प्रतिक्रियालाई ग्रहण गरिने सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईको भनाइ छ ।  छलफलमा ज्यापू महागुथि नेपा, नेपाल तण्डुकार समाज, बज्राचार्य संरक्षण क्लव, कारञ्जित समाज, स्यस्यः समाज, रञ्जितकार समाज नेपाल, चित्रकार (पूँ) समाज, केन्द्रीय मानन्धर संघ, कपाली समाज, उदय समाज, नेपाल माली समाज, कसाः तध गुथि, ताम्राकार समाज, राजकर्णिकार समाज, रजक समुदाय विकास संघ, द्योला समाज संघ, नेपाल खड्गी सेवा समिति, नकःमि समाज सेवा पुचः, नेपाल नापित समाजका पदाधिकारी तथा प्रतिनिधिहरुले धारणा राख्नुभएको थियो ।     सांस्कृतिक सम्पदाहरुको संवाहकका रुपमा रहेको भाषा, साहित्य, मौखिक परम्प्रा तथा अभिव्यक्ति अभौतिक सम्पदा हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं