बागदरबारको सवलीकरण र कमलपोखरी सौन्दर्यकारी योजनाको अनुगमन
काठमाडौँ । बागदरबारको रेक्टोफिट योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत बलियोपनालाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्देशन दिनुभएको छ । योजना अनुगमन समितिका संयोजक एवं कार्यवाहक प्रमुख डंगोलले सवलीकरण योजनाको अनुगमन गर्दै आज निर्माणका हरेक प्रक्रियालाई सुक्ष्म निगरानी गर्न सार्वजनिक निर्माण विभागका अधिकारीहरुलाई निर्देशन दिनुभएको हो । कमलपोखरीको अनुगमनमा क्रममा उहाँले, सूचना प्रविधि विभागलाई सीसीटिभी क्यामरा जडान गर्न, वातावरण व्यवस्थापन विभागलाई सरसफाइ र स्वच्छता कायम गराउन, उद्यान तथा हरियाली प्रवर्धन आयोजनालाई विरुवा तथा फूल रोपेर सुन्दर बनाउन निर्देशन दिँदै, पोखरी वरिपरि भएका निकाय तथा संघसंस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरीको स्वच्छता, सरसफाइ र सुन्दरता बनाउने योजना निर्माण गर्न सकिने बताउनुभयो । रेक्टोफिट भइरहेको बागदरबारको लागत अनुमान भ्याट, कन्टिजेन्सी, पीएससहित ७४ करोड ४७ लाख ३९ हजार ४४३ रुपियाँ थियो । सार्वजनिक खरिद प्रक्रियाबाट आएको निर्माण पक्षसँग ४२ करोड ९० लाख १४ हजार ३१० रुपियाँमा सम्झौता भयो । बोलपत्रदातालाई मंसिर १५ गते कार्यादेश दिइएको हो । निर्माण कार्य २०८४ मंसिर १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ । अहिले ५ प्रतिशत भौतिक प्रगति भएको छ । कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको सम्झौता रकम ३ करोड ५८ लाख ८७ हजार ५२ रुपियाँ हो । यसको लागत अनुमान ४ करोड ६ लाख ८१ हजार ८० रुपियाँ गरिएको थियो । यो रकम भ्याट र पीएससहितको हो । काम २०८१ असोज १९ गतेबाट सुरु भएको हो । गएको मंसिर १५ गते कार्य सम्पन्न हुनु पर्ने मिति थियो ।
