सहिद स्मारक पार्कमा ज्ञात अज्ञात सहिदहरुको सम्झना : शान्ति वाटिकाबाट प्रभातफेरी
काठमाडौँ । सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौँको लैनचौरस्थित सहिद पार्कमा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा स्मृति सभा गरिएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सम्पन्न सभामा नेपाली सेनाको टुकडीले सहिद सलामी अर्पण गरेको थियो । त्यस क्रममा प्रधानमन्त्री शुशिला कार्कीले सहिद स्तम्भमा पुष्पाहार अर्पण गर्नुभएको थियो । यस्तै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रीहरु, नेपाल सरकारका सचिवहरु, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, कर्मचारीसहित सर्वसाधारणले स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । स्मृति सभा सुरु हुनु अघि शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरी जमल, कान्तिपथ, केशरमहलहुँदै लैनचौर पुगेको थियो । सभामा स्मृति मन्तव्य राख्दै मूल समारोह समितिका संयोजक एवं महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले, सप्ताहव्यापी कार्यक्रममा सम्पन्न कार्यक्रमका बारेमा जानकारी दिँदै सहिदहरुको समर्पण र सपनालाई साकार बनाउन एकीकृत योजना आवश्यक रहेको उल्लेख गर्नुभयो । ‘उहाँहरुको बलिदानीबाट प्राप्त नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशी लोकतन्त्र जोगाउन सबैको सहभागिता र साझा मत आवश्यक परेको छ । राष्ट्रियता र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गरेका सहिदहरु विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक भएको वास्तविकता पुस्तान्तरण गर्नुपर्ने बेला आएको छ ।’ उहाँको भनाइ थियो । ‘सहिदहरुको योगदान स्मरण गर्दै महानगरपालिकाले संरचना निर्माण गर्ने तथा सहिदकै नाममा सेवा सञ्चालन गर्ने काम गरिरहेको छ । धर्मभक्त पार्क, सहिद गंगालाल हृदय रोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना र सञ्चालन सहिदका नाममा महानगरपालिकाले गरेका काम हुन् ।’ उहाँको भनाइ थियो । हुुकुमी शासनको अन्त्य, जनताको स्वतन्त्रता र स्वाधीनताका लागि सहिदहरुले व्यक्तिगत सुख, सुविधा त्यागेर प्राण आहुती गरेपछि प्राप्त भएको अवस्था अहिले हामीले भोग गरिरहेका छौँ । त्यसका लागि संघर्षरत योद्धाहरुले माफी मागेर शाशक सामु झुक्नुभन्दा प्रजातन्त्र, सुशासन र लोकतन्त्रका लागि विभिन्न काल खण्डमा प्राणाहुति गर्नुभएको छ । सन्ततिको स्वतन्त्रता र शासनमा नागरिक सर्वोच्चताको आकांक्षा राखेर प्राण दिने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ ।
