SHARE
मेट्रो न्युज काठमाडौं · शनिबार ३ माघ २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो 'ढोका छेँ' पुननिर्माण सुरु 

काठमाडौँ । काठमाडौँको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति क्षेत्र) मा १५१ वर्ष पुरानो ऐतिहासिक ‘ढोका छेँ’ फल्चाको पुनःनिर्माण सुरु भएको छ । आज वडा ८ का अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जगपूजा गर्दै पुनःनिर्माणको कार्य प्रारम्भ गर्नुभएको हो । नेपाल संवत् ९९५ मा निर्माण भएको यो फल्चा (पाटी) को ऐतिहासिक र धार्मिक विरासतलाई जोगाउन वडाले करिब १३ लाख ७० हजार रुपियाँ लागतमा फल्चा पुननिर्माण थालेको हो । पुननिर्माणका क्रममा प्राचीनता र कलात्मकतामा परिवर्तन नआउने गरी काम गरिने वडाध्यक्ष संगतले जानकारी दिनुभयो ।  यो फल्चा केवल विश्राम स्थल मात्र होइन । पाशुपतको महत्वपूर्ण मध्येको एक बच्छलेश्वरी जात्रा सञ्चालनको अभिन्न अङ्ग हो । अध्यक्ष संगतका अनुसार पहिले बच्छलेश्वरी जात्राको रथ उठाउने समयमा यही फल्चामा गणेश र कुमारीलाई राखेर विशेष पूजा गर्ने परम्परा थियो ।  फल्चामा कुमार र कुमारीको पूजा गरी त्यहाँ चढाइएको प्रसाद बालबालिकाहरूलाई खुवाउने चलन थियो । यसरी चढाइएको खुवाउँदा ‘बोल्न नसक्ने वा ढिलो गरी बोल्ने’ बालबालिकाको स्वर खुल्छ भन्ने गहिरो जनविश्वास छ । यो जनविश्वाशलाई जीवन्त राख्न, सांस्कृतिक तथा सामाजिक कडीलाई बचाउन फल्चा पुननिर्माण थालिएको हो ।  फल्चाको पुननिर्माणले ग्वलः क्षेत्रको ऐतिहासिकता र मौलिकतालाई कायम राख्न ठुलो भूमिका खेल्नेछ । यससँगै स्थानीयले विलाउँदै, हराउँदै गएको एउटा महत्वपूर्ण धार्मिक र सांस्कृतिक भौतिक संरचना पुन प्राप्त गर्नेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं