कमजोर भौतिक संरचना भूकम्पीय क्षतिको मुख्य कारण : आफू बस्ने घर बलियो बनाउन आग्रह
काठमाडौँ । भूकम्पको कम्पनले नभइ कमजोर संरचनाका कारण जनधनको क्षति हुने भएको बताउँदै अधिकारीहरुले भवन निर्माण संहितालाई हरेक भवन निर्माणकर्ताले ग्रहण गर्नुपर्नेमा जोड दिनुभएको छ । २८ औँ भूकम्प सुरक्षा दिवस २०८२ का अवसरमा काठमाडौँको खुला मञ्चमा आयोजना गरिएको मूल समारोहमा बोल्ने पदाधिकारीले अन्तरसरकार सम्बन्ध, निजी क्षेत्र तथा समुदायसँगको सहकार्य र नियमित कार्यक्रममा जोड दिँदै सुरक्षित भवन निर्माणमा एक दृष्टिले काम गर्नुपर्ने बताउनुभएको हो । कार्यक्रममा गृहमन्त्री एवं मूल समारोह समितिका अध्यक्ष ओमप्रकाश अर्यालले, आर्थिक सामाजिक संरचनामा प्रकोपले गहिरो असर पार्ने बताउँदै यस प्रकारको असर रोक्न एकीकृत प्रतिकार्यको खाँचो देखाउनुभयो । ‘शासकीय पद्धतिका रुपान्तरण हुँदै विपद प्रतिकार्यको संयन्त्र विकास हुँदै गएको छ । तर, यो पुग्दो छैन । यसलाई थप विस्तार र परिस्कृत गर्दै लैजानु पर्नेछ ।’ मन्त्री अर्यालले धारणा राख्नुभयो ।
