वडा नं. २६ मा ७७ वटा सीसीटिभी क्यामरा फाइबर इन्ट्रानेट सञ्जालमा जोडिए
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ ले वडाका बालाजु क्षेत्रबाट भित्र जडान गरिएका ७७ वटा सीसीटिभी क्यामरालाई फाइवर इन्ट्रानेटमा जडान गरेको छ । नेपाल टेलिकमसँगको सहकार्यमा फाइबरबाट जडान गरिएका सीसीटिभी क्यामराका दृश्यहरु वडा कार्यालयमा राखिएको मोनिटरमा हेर्न मिल्छ । आज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नविन मानन्धर र वडाध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले संयुक्त रुपमा प्रणाली शुभारम्भ गर्नुभएको हो । यसका लागि वडाले करिब १ करोड रुपियाँ खर्च गरेको छ । कार्यक्रममा वडाध्यक्ष एवं संयोजक तिवारीले भन्नुभयो, ‘यस प्रकारको प्रणाली सम्भवतः नेपालमै पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो । यही प्रणालीलाई महानगरपालिकाभित्र सबैतिर विस्तार गर्दैछौँ ।’ वडाको आवश्यकताका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘वडाको भौगोलिक क्षेत्रभित्रका लागि २ सय वटा क्यामरा आवश्यक छन् । चरणवद्ध रुपमा हामी यी क्यामरा जडान गर्नेछौँ ।’ सुरक्षा, सहरी विकास र विकास व्यवस्थापनका लागि प्रविधिको दिगो पूर्वाधार निर्माण गर्ने तथा सुरक्षा निकायसँग सहकार्य गर्ने योजना रहेको उहाँको भनाइ छ । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार सहरभित्रका सीसीटिभी क्यामराबाट प्राप्त दृश्यको निगरानी गर्न बालाजु वाइसधारा उद्यान क्षेत्रमा सर्भलेन्स रुम (निगरानी कक्ष) निर्माणका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको छ । प्रणाली विस्तारको प्रगतिका विषयमा कुरा गर्दै उहाँ भन्नुहुन्छ, ‘वडा नम्बर ३० मा प्रणाली जडान भइसकेको छ । वडा नम्बर ३२ को बोलपत्र आव्हान हुने चरणमा छ ।
