SHARE
मेट्रो न्युज काठमाडौं · बिहीबार १० पु २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

'निर्माण सम्पन्न पूर्वाधारको संरक्षण, सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधि तर्जुमा गर्न आवश्यक' - संयोजक, डंगोल, अनुगमन समिति 

काठमाडौँ । महानगरपालिकाले निर्माण गरेका सार्वजनिक पूर्वाधारको संरक्षण, सञ्चालन र व्यवस्थापनका लागि कार्यविधिको आवश्यकता महसुस भएको बताउँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले, कार्यविधि तर्जुमा प्रक्रिया तत्काल अगाडि बढाइने बताउनुभएको छ । आज महाङ्काल सत्तल र खुला मञ्चको अनुगमन गर्दै उहाँले भन्नुभयो, ‘महानगरपालिकाले उद्यान तथा पार्क, पोखरी, मठमन्दिर, सत्तल, चोकलगायत सार्वजनिक उपयोगका धेरै संरचना निर्माण गरेको छ । यसका लागि धेरै खर्च गरिएको छ । नागरिकबाट संकलन भएको राजस्वबाट निर्माण गरिएका यस्ता संरचनाको दिगो उपयोग गर्न, स्वामित्व र संरक्षणका लागि समुदायको सहभागिता जस्ता व्यवस्थामा स्सुनिश्चित गर्न कार्यविधि चाहिन्छ ।’ ‘पूर्वाधार निर्माण एक पटकको योजना हो । तर, सञ्चालन व्यवस्थापन दैनिक काम हो । कतिपय सम्पदा संरचनाहरु जीर्ण हुँदा मर्मत सम्भार तथा पुननिर्माणको दायित्व लिने कोही देखिँदैनन् । महानगरपालिकाले पुननिर्माण गरिदिएपछि स्वामित्व दावी गर्दै आउने पनि देखिएको छ । सार्वजनिक सम्पत्तिको उपयोगसँग सम्बन्धित यावत समस्या समाधान गर्ने गरी कार्यविधि बनाएपछि समान मापदण्डका आधारमा सार्वजनिक सम्पत्तिको संरक्षण, सम्बर्धन र उपयोग सुनिश्चित हुनेछ ।’ उहाँ प्रक्रिया थालनी गर्न सार्वजनिक निर्माण विभागका अधिकारीहरुलाई निर्देशन दिनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं