एकीकृत, सन्तुलित र सर्वाङ्गीण महानगर निर्माणमा अनुसन्धान गर्न ‘महानगर अनुसन्धान शोधवृत्ति’ : १० विषयमा अनुसन्धान प्रस्ताव आव्हान
काठमाडौँ । ‘महानगर अनुसन्धान शोधवृत्ति’का लागि काठमाडौँ महानगरपालिकाले १० वटा विषयमा शोधकर्तालाई आव्हान गरेको छ । अनुसन्धानको परिणामसँग नीतिगत निर्णयको सम्बन्ध, कार्यान्वयन वा उपयोगिता, पूर्वाधार तथा सामाजिक विकासमा आधारित परिणाम, आवश्यकतामा आधारित परियोजना जस्ता विषयलाई प्राथमिकतामा राखेर यस बर्ष अध्ययनका विषय छनोट भएका हुन् । अनुसन्धानबाट प्राप्त हुने तथ्यले काठमाडौँ सहरको सन्तुलित, एकीकृत र सर्वाङ्गीण विकासका लागि महानगरपालिकाले तर्जुमा गर्ने नीति, योजना तथा कार्यक्रम र बजेट विनियोजन प्रक्रियालाई तथ्य र आवश्यकतामा आधारित बनाउन सहयोग पु¥याउने उद्देश्य राखिएको छ । महानगरपालिकाले इतिहास, कला, संस्कृति, परम्परा, भाषा, साहित्य, सहरी योजना, सहरी डिजाइन, वास्तुकला, यातायात, भौतिक पूर्वाधार, जनसांख्यिकीय, समाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययनलगायत विषयलाई प्राथमिकतामा राखेर विषयगत ज्ञान, अनुभव र विशेषज्ञता हासिल गरेका विज्ञहरुबाट अनुसन्धान गराउँदै आएको छ । यसरी प्राथमिकतामा राखिएका विषयहरुमा शिक्षा, सामाजिक विकास, युवा, सामाजिक अभियान स्वास्थ्य, जीवनस्तर, स्थानीय आर्थिक विकास, सहरी वित्त, उद्यमशीलता, मानव संशाधन विकास, सहरी अनौपचारिक क्षेत्र, गरिवी, अनधिकृत बसोवास, वातावरण, दिगो विकास, विपद् व्यवस्थापन, जलवायु परिवर्तन, कानून, शासन, सूचना तथा सञ्चार, नविन सोच अनुसन्धानका प्राथमिक विषय हुन् । यस वर्षका लागि १) सहरी सुशासन र विश्वव्यापी प्रतिस्पर्धा, २) महानगरको पहिचानमा सांस्कृतिक विविधता, ३) गुणस्तरीय सहरी बसोबास, ४) आर्थिक समृद्धिका लागि नवप्रवर्तन, ५) सहरी यातायात प्रणालीको पूर्वाधार, ६) वातावरण, जलबायु र उत्थानशीलता, ७) सामाजिक समावेशीकरण र समता, ८) शिक्षा तथा सांस्कृतिक आदानप्रदान, ९) सुरक्षा, स्वास्थ्य र कल्याण र १०) तथ्याङ्कमा आधारित अनुगमन मूल्याङ्कन प्रणालीको संस्थागत विकासलाई क्षेत्रगत शोध विषयका रुपमा चयन गरिएको छ । शोधवृत्ति कार्यक्रममा सहभागी हुन चाहने योग्यता पुगेका व्यक्तिहरुले आफूले अनुसन्धान गर्न चाहेको सम्बन्धित विषयमा बढीमा १५ पृष्ठसम्मको प्रस्ताव पेश गर्नुपर्नेछ । यसमा अनुसन्धानको पृष्ठभूमि, अनुसन्धानका विधि, क्षेत्र, सीमा, कार्य तालिका, अपेक्षित परिणाम तथा सम्भावित प्रभाव लगायत विषय समावेश गर्नुपर्नेछ । अनुसन्धान गर्न चाहेको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र अनुसन्धान, अध्यापन वा विषयगत काममा २ बर्षको अनुभव हुने अनुसन्धानकर्ताले शोधवृत्तिका लागि योग्य हुनेछन् । उनीहरु भाषागत रुपमा नेपाली वा अंग्रेजीमध्ये कुनै एक भाषामा पोख्त हुनुपर्नेछ । अध्ययनपछि प्रतिवेदन, लेख र प्रस्तुतिलाई नेपाली वा अंग्रेजीमध्ये एक भाषामा तयार पार्नु पर्नेछ । अनुसन्धानका लागि ६ महिनाको अवधि प्रदान हुनेछ । यस अवधिभित्र आवेदकले ४ पटक प्रस्तुतिकरण गर्नुपर्नेछ । आवेदकलाई उमेरका हद राखिएको छैन । प्रस्ताव प्राप्त गरिसकेपछि यी हरेक विषयमा एक÷एक जना शोधकर्ता छनोट गरिनेछ । शोध कार्यको पहिलो महिनामा अवधारणा तथा अनुसन्धानको रुपरेखा स्वीकृत गरिन्छ । दोस्रो महिनामा तथ्याङ्क संकलन तथा स्थलगत भ्रमण अवलोकन हुन्छ । तेस्रो र चौथो महिनामा तथ्य विश्लेषण, पाँचौँ महिनामा मस्यौदा प्रतिवेदन तयार पार्ने, सहसमीक्षा गर्ने, सहजकर्ताबाट पृष्ठपोषण लिनु पर्नेछ । छैटौँ महिनामा प्रस्तुतिकरण र अन्तिम प्रतिवेदन पेश गर्नुपर्नेछ । छानिएका आवेदकलाई महानगरपालिकाले करसहित १ लाख ५० हजार रुपियाँ उपलब्ध गराउनेछ । यसबाट अनुसन्धान, लेखनलगायतका काम गर्नुपर्नेछ । यो रकम ४ किस्तामा प्रदान हुनेछ । अध्ययन प्रस्ताव स्वीकृत भएपछि २० प्रतिशत, मध्यावधि प्रस्तुतिकरण र प्रतिवेदन पेश भएपछि ३० प्रतिशत, मस्यौदा प्रतिवेदन पेश गरेपछि ३० प्रतिशत र आयोगले आयोजना गरेको कार्यशालामा अन्तिम प्रतिवेदन प्रस्तुतिकरण र पेश गरेपछि बाँकी २० प्रतिशत रकम भुक्तानी हुनेछ । विगतमा अनुसन्धान गरिएका विषय गएको वर्ष सम्पन्न चौथो संस्करणमा कृतिम बौद्धिकता (एआइ) को प्रयोग गरेर प्राचीन शिलालेखहरुको लिपि नेपाल भाषामा उतार विषयमा रजनी चुलाद्योले अनुसन्धान गर्नुभएको थियो । यस्तै विजय महर्जनले न्यु रोड क्षेत्रका व्यावसायिक भवनहरुमा भूमिगत पार्किङ्को भौगोलिक नक्साङ्कन र परिमाण निर्धारण विषयमा, कामेश्वर सहनीले प्लाष्टिकजन्य फोहोरबाट निर्माण सामग्रीका रुपमा उत्पादन हुने ब्लकको प्रभाव अध्ययनका विषयमा, उज्वल आचार्यले, कवाडीका रुपमा संकलन हुने धातुको संकलन, प्रशोधनदेखि उपभोगसम्मको मुल्य श्रृङ्खला अध्ययन विषयमा शोध गर्नुभएको थियो ।
