SHARE
मेट्रो न्युज काठमाडौं · शनिबार ५ पु २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को अन्तिम लेखा परीक्षण सुरु 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को अन्तिम लेखा परीक्षण कार्य आजदेखि प्रारम्भ भएको छ । महालेखा परीक्षकको कार्यालयका निर्देशक मुकुन्द घिमिरेको नेतृत्वमा खटिएको टोलीले आज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँग प्रवेश बैठक गरेर काम सुरु गरेको हो ।  वैठकमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, गरेका कामका विषयमा स्पष्ट सञ्चार गर्न नसक्दा, मागेका विवरण उपलब्ध नगराउँदा बेरुजुको मात्रा बढ्ने भएकोले स्पष्ट जानकारी दिन, मागेका विवरण, आधार, प्रमाण र कारणहरु तत्काल उपलब्ध गराउन विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभयो ।  त्यस क्रममा महानगरपालिकाको संगठन सरचना, दरबन्दी, विस्तार गरिएका सेवा सम्बद्ध कामका लागि खटाइएका जनशक्ति, महानगरपालिकाले जारी गरेका कानुन, अधिकार प्रत्यायोजनको अवस्था, बित्तीय सुशासनका लागि आन्तरिक नियन्त्रण प्रणालीका विषयमा जानकारी दिँदै प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले, माग गरिएका कागजपत्र तत्काल उपलब्ध गराउने गरी जनशक्ति खटाइने बताउनुभयो ।  लेखा परीक्षणसँगै समपरीक्षणको काम पनि सँगै गर्ने योजना सुनाउँदै महालेखा परीक्षकको कार्यालयका निर्देशक घिमिरेले, समपरीक्षणबाट विगतको वेरुजु घट्ने सम्भावना देखाउनुभयो । पेश्की वेरुजु र राजस्व वेरुजु घटाउन ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।  अन्तिम लेखा परीक्षणका क्रममा कामको वित्तीय विवरण, यसअघिका परीक्षणबाट औँल्याएका विषय, सुधारका लागि दिइएका सुझाव, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानुनबमोजिम प्रक्रिया तथा पद्धतिहरु हेरिन्छ । महानगरपालिकाले वित्तीय प्रक्रिया सञ्चालन गर्दा हुन सक्ने जोखिम, आन्तरिक नियन्त्रण प्रणाली, आन्तरिक लेखा परीक्षणको प्रभावकारिता र नियन्त्रण, वित्तीय जोखिमको अवस्था मूल्याङ्कन गरिन्छ ।  केन्द्र, वडासहित खर्च हुने ठाउँबाट सञ्चित रकम खर्च गर्दा अपनाउनु पर्ने नियमितता, मितव्ययिता, कार्यदक्षता उपर परीक्षण गर्ने गरी लेखापरीक्षण योजना बनाइएको छ ।  महानगरपालिकाले वित्तीय सुशासनका लागि पूर्व लेखा परीक्षण, आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरी ३ चरणमा लेखा परीक्षण गर्ने गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं