SHARE
मेट्रो न्युज काठमाडौं · मङगलबार १ पु २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

जनअपेक्षा बमोजिम काठमाडौँ महानगरपालिकाले काम गरिरहेको राष्ट्रपति पौडेलको विश्वाश : ३१ औँ महानगर दिवस समारोह सम्पन्न 

काठमाडौँ । नागरिकका अपेक्षा अनुसार विकासका लागि महानगरपालिकाले अग्रणी काम गरिरहेकोमा आफूले विश्वाश गरेको बताउँदै राष्ट्रपति रामचन्द्र पौडेलले, सरकारले जनअपेक्षा पूरा गर्न सके वर्तमान समस्याको निकास आउने धारणा राख्नुभएको छ । काठमाडौँ महानगरपालिकाको ३१ औँ महानगर दिवसका अवसरमा टुँडिखेलमा आयोजना गरिएको मूल समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘प्राकृतिक तथा मानव सिर्जित सम्पदाको संरक्षण, हरियाली प्रवर्धन, एकीकृत सहरी विकास, सुविधा वितरण र सेवा प्रवाहमा विद्युतीय प्रणालीको प्रयोग काठमाडौँ महानगरपालिकाले गरेका उदाहरणीय काम हुन् ।’  ‘एकल सेवा केन्द्र सञ्चालन गर्नु, विद्युतीय शासनलाई संस्थागत गर्दै जानु, गुनासो सुनुवाईको प्रणालीलाई प्राथमिकता दिनुले आँगनको सरकार स्थानीय सरकार सवल रुपमा स्थापित भएको सन्देश हो ।’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘नागरिकसँग प्रत्यक्ष जोडिएका अधिकार वडा तहमा पुगेको सन्देशलाई महानगरपालिकाले प्रवाहीकरण गरेको छ । महानगरपालिकाको सेवा नागरिकमैत्री, सेवाग्राहीमैत्री, उत्तरदायी तथा पारदर्शितामा आधारित छन् भन्ने सन्देश स्थानीय शासनको बलियो खम्बा हो ।’  समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री रामेश्वर खनाल, भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ्, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित उच्च पदस्थ पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।    समारोहमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, महानगरबासीले आफू महानगरपालिकामा बसोबास गर्न पाएकोमा गौरव महसुस गर्ने गरी दत्तचित्तले नीति, योजना, बजेट तथा कार्यक्रम तर्जुमा गरिएको बताउँदै अहिलेसम्म प्राप्त उपलब्धिहरु अङ्कमा प्रस्तुत गर्नुभएको थियो । ‘२०८ रोपनी सार्वजनिक जग्गा सार्वजनिक काममा फिर्ता गरिएको, १ हजार ८५९ रोपनी जग्गा फिर्ता गराउने योजना रहेको, धुलोरहित सडकअन्तर्गत ५५ किलोमिटर सडक कालोपत्र तथा स्तरोन्नति गरिएको, ६२ वटा चोकमा हाइमास्ट बत्ती जडान गरिएको, सार्वजनिक खरिद प्रक्रियाबाट करिब १ अरब २८ करोड रुपियाँ बचत गरेको, सामुदायिक शिक्षाको सुधार, जोखिमपूर्ण श्रममा रहेका र यौन हिंसामा परेका बालबालिकाको उद्धार, अस्थायी संरक्षण र पारिवारिक पुनर्मिलन गराएको, विद्युतीय कार्यालय सञ्चालन प्रणालीलगायत सुधारका कामलाई प्रतिनिधि उपलब्धि हुन् ।’ उहाँले महानगरपालिकाको वैभव जोगाउन अहिलेसम्म योगदान गर्ने पूर्व जनप्रतिनिधि, राष्ट्रसेवक तथा विकास साझेदारप्रति आभार प्रकट गर्दै भन्नुभयो, ‘काठमाडौँको पहिचानलाई अक्षुण्ण राख्दै स्थानीय सरकारका दायित्वलाई उत्तरदायी, मितव्ययी, पारदर्शी भएर पूरा गरिरहेका छौँ ।’ कार्यक्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले, स्थानीय सुशासन र स्वशासनको अभ्यास प्रारम्भ भएका विशेष दिनमध्ये काठमाडौँलाई महानगरपालिका घोषणा गरिएको दिनलाई नागरिकका आँगनमा वृहत दृष्टिसहितको स्थानीय सरकार स्थापना भएको दिनका रुपमा स्मरण गर्न चाहेको बताउनुभयो । ‘अहिलेसम्म गरिएका असल अभ्यासहरुलाई संस्थागत विकास गरेर नागरिकका अपेक्षा पूरा गराउन प्रतिवद्ध छौँ ।’ उहाँले भन्नुभयो, ‘आफ्ना दायित्वप्रतिको दृढताले समृद्धि प्रदान गर्दछ । यसकारण सहकार्य र समन्वयप्रति साझेदारबाट दृढता प्राप्त भए पहिचानयुक्त, समतामूलक, समावेशी सहर निर्माणको लक्ष्य छिट्टै प्राप्त हुनेछ ।’    समारोहमा देशको गरिमा बढाउन विभिन्न क्षेत्रमा रहेर योगदान पुर्‍याउने १५ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो । राष्ट्रपति पौडेल, प्रमुख शाह र उपप्रमुख डंगोलले उहाँहरुलाई सम्मानित गर्नुभएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं