महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’को उद्घाटन गर्नुभएको छ । महानगरपालिकाको आर्थिक सहयोगबाट निर्माण भएको भवन नारायण गोपालको ३५ औँ स्मृति दिवसको अवसरमा भवन उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा नारायण गोपाल संगीत कोषले सांगीतिक कार्यक्रमसमेत आयोजना गरेको थियो । उद्घाटनपछि बोल्दै उहाँले भन्नुभयो, ‘हरेक व्यक्तिको मनमा आउने भावना छुने गीत गाएका कारण नारायण गोपालका गीत जीवन्त छन् । यो जीवन्तताका कारण उहाँका गीत सम्पदा बनेका छन् । यस्ता अमूर्त सम्पदा जोगाउन महानगरपालिकाले लगानी गरेको हो ।’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाले लगानी गरेको भवनमा सबैको पहुँच होस् । हरेक कला साधकका लागि उपयुक्त होस् भनेर समयसमयमा अनुगमन पनि गरेका थियौँ । यसरी निर्माण भएको भवनबाट कला साधकहरुको मन्दिर बन्नेछ ।
