स्वास्थ्य परीक्षणको 'प्रयोगशाला गुणस्तर मापदण्ड' सम्बन्धी ७ दिने प्रशिक्षण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले वडास्तरीय स्वास्थ्य प्रयोगशालाका प्राविधिकहरुका लागि ७ दिने तालिम सम्पन्न गरेको छ । स्वच्छ र सफा प्रयोगशाला, साधन तथा उपकरणहरुको उचित भण्डारण, विरामीहरुबाट नमूना लिने प्रक्रिया, लिएका नमूनाहरुको परीक्षण, रिपोर्ट निर्माण लगायतका काममा गुणस्तर सुनिश्चित गर्न स्वास्थ्य विभागले गुणस्तर मापदण्ड सम्बन्धी तालिम प्रदान गरेको हो । महानगरपालिकाले सबै वडा (३२ वटा)मा स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हरेक वडामा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएका छन् । यी प्रयोगशालाहरुमा मधुमेहसहित रगतबाट गरिने जाँच, मिर्गौलासहित पिसाबका जाँचिने रोग, खकारबाट जाँचिने क्षयरोगसहित आधारभूत स्वास्थ्य सेवाको परीक्षण गरिन्छ । तालिममा जनस्वास्थ्य गुणस्तरका राष्ट्रिय अन्तरराष्ट्रिय नीति, प्रक्रिया र अभ्यास, विरामीलाई नमूना संकलनका लागि तयार पार्ने विधि, सम्भावित त्रुटि र जोखिम, गुणस्तर नियन्त्रणका प्रक्रिया, क्षयरोगको नमूना संकलन र परीक्षण, प्रयोगशालाको स्वच्छता र सरसफाइ, हानीकारक फोहर व्यवस्थापनका साधन, उपकरण तथा विधि, जनशक्ति बिचको आपसी सम्बन्ध लगायत विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा अभ्यास गराइएको थियो । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्थलगत अवलोकन गराइएको थियो । यी विषयहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वागमती प्रदेश स्वास्थ्य प्रयोगशाला र राष्ट्रिय क्षयरोग केन्द्रका प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणपछिको मूल्याङ्कनमा प्रशिक्षार्थीहरुको न्यूनतम ९० अङ्क प्राप्त भएको थियो । पूर्वमूल्याङ्कनमा १५ अङ्कसम्म प्राप्त गरेकोमा प्रशिक्षणपछिको अङ्कले तालिमको महत्व दर्शाएको प्रशिक्षक शंकर शाहीले बताउनुभयो ।
