'सहअस्तित्वमा आधारित ज्यापू दिवसले पहिचान र समृद्धिको सन्देश दिएको छ' - उपप्रमुख डंगोल
काठमाडौँ, मंसिर १९ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, ज्यापू दिवस सहअस्तित्वमा आधारित पहिचान र समृद्धिको सन्देश दिने पर्व भएको बताउनुभएको छ । २२ औँ ज्यापू दिवसका अवसरमा विहीबार वसन्तपुरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले, पर्वले दिने सन्देशको मर्म ग्रहण गर्न आवश्यक रहेको बताउनुभयो । उद्यम र उद्यमीप्रति सम्मान गर्ने हाम्रो मौलिक पर्वमा मिठो मानेर खाने गरिएको यमरी केवल खानेकुरा मात्र नभइ ज्यापूहरुले प्रकृति र समृद्धिप्रति दर्शाउने समर्पण भावको प्रतीक भएको बताउँदै उहाँले, यो पर्व केवल परम्परा मात्र नभइ, पहिचान पनि भएको उल्लेख गर्नुभयो । माटोले प्रदान गरेको अन्नप्रति आभार प्रकट गरिने मौलिक परम्पराको महत्व प्रवर्धन गर्नुपर्ने उहाँको भनाइ थियो । ‘झाँकी, बाद्यबादन, रहनसहन केवल क्रियाकलाप मात्र होइनन् । यी चालचलनभित्रको सामाजिक व्यवस्थापनको सुत्र बलियो छ ।’ डंगोलले पेशा र उद्यमको प्रसङ्ग जोड्दै भन्नुभयो, ‘यस बर्ष फलेको धानबाट बनाइएको परिकार अन्नपूर्णलाई चढाउने परम्पराको दार्शनिक पक्ष ग्रहण गर्नुपर्छ । बर्षभरि नै अन्नको अभाव नहोस् भन्ने कामनालाई माटोसँग जोडेर हेर्ने परम्पराको सामाजिक सन्देश ग्रहण गर्नुपर्छ ।’ मूल समारोहमा प्रधानमन्त्री शुशिला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालसहित विशिष्ट व्यक्तित्वहरु उपस्थित हुनुहुन्थ्यो । समारोहमा ज्यापू संस्कृतिको विकास र प्रवर्धनमा योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । वसन्तपुर जानु अघि नरःदे (हाँडीगाउँ)बाट सुरु भएको सांस्कृतिक र्यालीको उद्घाटन गर्नुभएको थियो । त्यस र्यालीमा महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, कार्यपालिका सदस्यहरु, ज्यापू संस्कृतिक विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहसहित पदाधिकारी, वडा ५ को सांस्कृतिक झाँकीको सहभागिता थियो ।
