छात्रवृत्ति परीक्षा भोलि शनिबार बिहान ८ बजे देखि सुरु : यस्ता छन् परीक्षार्थीले पालना गर्नुपर्ने नियमहरू
काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि प्रवेश परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखिकरण प्रदान गरेको छ। महानगरले विगत तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीहरूलाई अवसर प्रदान गर्दै आएको छ। यस वर्षको प्रवेश परीक्षाका लागि देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट हुनु भएकाे छ। छनोट हुनुभएका विद्यार्थीहरूमा विज्ञान संकायका लागि ११,५९०, व्यवस्थापनका लागि ४,१६४, मानविकीका लागि ३२, शिक्षाका लागि ९५ र कानुन संकायका लागि २५६ जना समावेश हुनुहुन्छ । छात्रवृत्ति प्रवेश परीक्षा भोलि शनिबार, साउन ३ गते बिहान ८:०० देखि १०:०० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजीबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन्। उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक छ, र गलत उत्तरका लागि नकारात्मक अंकन गरिने छैन।
