असोज महिनासम्मको प्रगति माग गर्ने अनुगमन मूल्याङ्कन समितिको निर्णय
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन तथा मूल्याङ्कन समितिले विभाग, सचिवालय, आयोग, एकाइ र वडा कार्यालयबाट २०८२ असोज मसान्तसम्मको प्रगति विवरण माग गर्ने निर्णय गरेको छ । आज महानगरपालिकाका उपप्रमुख एवं समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले कार्तिक मसान्तसम्ममा असोज मसान्तसम्मको विवरण माग गर्ने निर्णय गरेको हो । स्वीकृत वार्षिक कार्य योजना सबै बजेट कार्यान्वयन एकाइले योजना अनुगमन तथा मूल्याङ्कन एकाइमा पठाउनु पर्नेछ । वैठकले वार्षिक बजेट, योजना तथा कार्यक्रमहरुको अनुगमन तथा मूल्याङ्कन कार्यमा प्रयोग गरिने सूचकसहितको फाराम स्वीकृत गरेको छ । वैठकमा उपप्रमुख डंगोलले, योजना कार्यान्वयन हुने स्थान र अवस्थाबाट अनुगमन कार्य प्रारम्भ गर्ने योजना रहेको बताउनुभयो । ‘योजना कार्यान्वयन पूर्व अवस्था, कार्यान्वयन चरण र निर्माण भएपछिको अवस्थाको चक्रबाट अनुगमनले नतिजा दिन सक्छ ।’ उहाँले, अनुगमन कार्य योजना निर्माण गर्दा ध्यान दिन आग्रह गर्नुभयो । प्रशासनिक संयन्त्रबाट भइरहेका कामका विषयमा आफूले नियमित निगरानी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले बताउनुभयो । बैठकमा निर्माण कार्य सुरु गर्नुअघि निर्माण सामग्री ल्याउने अनुमति, कार्य तालिकाअनुसारको काम, कार्यतालिका परिवर्तन गर्नु परे औचित्य विश्लेषण, श्रम, सर्त तथा बन्देज, पैदलयात्रीसहित उपभोक्ताप्रतिका दायित्वका विषयमा छलफल भएको थियो । यस्तै निर्माण कार्य सकिएपछिको निश्चित समयमा भएको क्षतिको दायित्व निर्माण पक्षमा रहने विषयमा पनि छलफल भएको थियो । वैठकमा समितिका सदस्य सचिव गंगाधर गौत्तमले, अनुगमन गर्दा प्रयोग गरिने फाराममा राखिएका सूचकका विषयमा प्रस्तुति गर्नुभएको थियो । अनुगमन टोलीहरु यस वर्ष स्वीकृत बजेट, योजना तथा कार्यक्रमहरुको अनुगमन गर्नका सहरी योजना आयोगका सदस्यहरुको संयोजकत्वमा ३ वटा टोली गठन गरिएका छन् । अनगुमन तथा मूल्याङ्कन समितिको असोज २७ गतेको निर्णय अनुसार टोली गठन गरिएका हुन् ।
