वैदेशिक रोजगारमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा

 काठमाडौं - सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि आगामी नयाँ वर्षदेखि सामाजिक सुरक्षा योजनामा सहभागिता जनाउन सक्ने घोषणा गरेको छ। यस्तो योजनामा आबद्ध भएका नेपालीहरूले योगदानमा आधारित पेन्सन लगायत स्वास्थ्य उपचारबिमा सहितका सुविधा पाउने अधिकारीहरूले बताएका छन्।

तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू कसरी यो योजनामा सहभागी हुन सक्छन् ?

आबद्ध हुने प्रक्रिया ?

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीका अनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने क्रममा र कोषमा सिधै आवेदन दिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू सामाजिक सुरक्षामा जोडिन सक्छन्। श्रम स्वीकृति लिने क्रममा वैदेशिक रोजगार विभागको वेबसाइटबाट अनलाइन आवेदन दिएर सामाजिक सुरक्षामा जोडिन सकिने उनले बताए।

“विदेशमा हुनेहरूलाई पनि मन्त्रालयले पुनः श्रम स्वीकृति सम्बन्धित मुलुकबाटै गर्न सक्ने व्यवस्था गरेको कारणले पुनः स्वीकृति लिँदा पनि सामाजिक सुरक्षामा आबद्ध हुने व्यवस्था छ,” ज्ञवालीले भने।

उनका अनुसार त्यस बाहेक यसअघिकै स्वीकृति लिएर विदेशमा रहेकाहरूले पनि कोषको वेबसाइटमा आफ्नो जानकारी दर्ता गराएर सामाजिक सुरक्षामा आबद्ध हुन सक्छन्। सामाजिक सुरक्षा कोषकी सहायक निर्देशक सुशीला पौडेलका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरू तीन तरिकाबाट कोषमा आबद्ध हुन सक्छन्।

श्रम स्वीकृति नवीकरण गर्ने क्रममा र सिधै सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत विवरण दर्ता गराएर स्वीकृति लिन सकिन्छ । “यसरी सूचीकरण भएपछि उहाँहरूको इमेलमा सामाजिक सुरक्षा कार्ड र नम्बर जान्छ र त्यही नम्बरका आधारमा उहाँहरूले आफ्नो योगदान जम्मा गर्न सक्नुहुन्छ,” पौडेलले भनिन्।

कति रकम जम्मा गर्नुपर्छ ?

कोषका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सामाजिक सुरक्षामा आबद्ध हुन न्यूनतम २००२ रुपैयाँ जम्मा गरे पुग्छ। तर कोषमा हरेक महिना रकम जम्मा गर्नुपर्छ।

नेपाल सरकारले औद्योगिक कामदारका लागि तोकेको न्यूनतम रु १५,००० को बेसिक पारिश्रमिक रु ९,३८५ लाई आधार मानेर त्यसको २१.३३ प्रतिशत हुन आउने रु २,००२ लाई कोषमा आबद्ध हुने न्यूनतम रकम तोकिएको अधिकारीहरूको भनाइ छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कोषमा जम्मा गर्न सक्ने अधिकतम योगदान बेसिक पारिश्रमिक ९,३८५ को तीन गुणा हुन आउने २८,१५५ सम्म तोकिएको छ।

के–के कागजात आवश्यक पर्छ ?

वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र विदेशमा स्वरोजगारमा रहेका नेपालीहरूका लागि कोषमा आबद्ध हुन चाहिने आवश्यक कागजातहरू फरक फरक हुनसक्छ।

कोषकी सहायक निर्देशक पौडेलका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि

नागरिकता वा राहदानीको प्रतिलिपि
श्रम स्वीकृतिको प्रतिलिपि

नियुक्ति पत्रको प्रतिलिपि

काम गर्ने स्थानको ठेगाना र सम्पर्क आवश्यक पर्छ

स्वरोजगारमा रहेका नेपालीहरूका लागि

नागरिकता वा राहदानीको प्रतिलिपि

भिसा वा प्रवेश आज्ञाको प्रतिलिपि

पेसा व्यवसाय दर्ताको प्रतिलिपि

काम गर्ने स्थानको ठेगाना र सम्पर्क आवश्यक पर्छ

कसरी जम्मा गर्ने ?
कोषका अनुसार विदेशमा बस्ने नेपालीले रेमिट्यान्सको माध्यमबाट कोषमा पैसा जम्मा गर्न सक्छन्।

“कनेक्ट आइपीएस सहित ई-सेवा, खल्ती जस्ता वालेट अथवा फोन पे वा रेमिटको माध्यमबाट पनि कोषमा नियमित पैसा जम्मा गर्न सकिन्छ,” कोषकी सहायक निर्देशक पौडेलले भनिन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्तीमा नौ महिनाको योगदान जम्मा गरेपछि मात्रै कोषबाट पाइने बीमा लगायतका सुविधा पाउँछन्।

कोषमा अग्रिम रूपमा पनि रकम जम्मा गर्न सकिने र त्यसरी कम्तिमा सात महिनासम्मको रकम जम्मा गर्दा १० प्रतिशतसम्म छुटको पनि व्यवस्था रहेको पौडेलले जानकारी दिइन्।

जम्मा हुने न्यूनतम रु २,००२ मध्ये रु ७०२ प्रिमियम र १,३०० रुपैयाँ न्यूनतम मौज्दात अन्तर्गत रहने र नेपाल फर्किइसकेपछि त्यो निकाल्न पनि मिल्ने बताइएको छ।

इजरेलमा रहेकी एक नेपालीका श्रीमान्‌लाई परिचय पत्र दिएर सुरु भएको यो योजना वैशाख १ गतेबाट पूर्ण कार्यान्वयनमा आउने बताइएको छ।

पछिल्लो जनगणना अनुसार करिब २२ लाख नेपालीहरू वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन्।

सामाजिक सुरक्षा कोषले गैर आवासीय नेपाली सङ्घसँग पनि यसका लागि सहकार्य गरिने जनाएको छ।
सुविधा के पाइन्छ ?

कोषमा न्यूनतम रकम जम्मा गरिरहँदा पनि दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना उपलब्ध हुने उनले बताए।

“दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना भनेर चार किसिमका योजनाहरू ल्याएका छौँ। त्यो एक वर्षमा दुर्घटनामा पर्नुभयो र अस्पतालमा उपचार गर्नुपर्‍यो भने एक लाखसम्मको औषधी उपचारको सुविधा छ,” उनले भने।

“अशक्त हुनुभयो भने कोषमा योगदान गर्ने आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुन आउने रकम मासिक रूपमा अशक्तता वृत्ति भनेर कोषले उपलब्ध गराउँछ।“

कोषबाट दुर्घटना उपचार खर्च लिन चाहिँ दुर्घटना भएर अस्पतालमा उपचार गराएको बिल पेस गर्नुपर्ने सर्त छ।

दुर्घटना वापतको एक लाख रुपैयाँ लिन वैदेशिक रोजगारीमा रहेका नेपालीले स्वदेश आउँदा बिल पेस गर्नुपर्ने नियम छ। त्यसपछि कोषले उनीहरूको ब्याङ्क खातामा उक्त भुक्तानी पठाइदिने ज्ञवालीले बताए।

“अशक्त भएर फर्किएको अवस्थामा पनि नेपालमा रहेको ब्याङ्क खातामा रकम पठाइदिने हो,” उनले थपे।

विदेशमा रहँदा आजीवन अशक्त भएर काम गर्न नसक्ने भएको अवस्थामा ९,३८५ रुपैयाँ को ६० प्रतिशत जीवनभर हरेक महिना पेन्सन पाउने कोषले जनाएको छ। योगदानमा आधारित यस्तो पेन्सन भने ६० वर्ष पुगेपछि मात्रै कोषले दिन्छ।

वैदेशिक रोजगारीमा रहेका कामदारको मृत्यु भए श्रीमान् वा श्रीमतीले आजीवन र बालबालिकाले २१ वर्ष नपुग्दासम्म ९ हजारको ४० प्रतिशत हुन आउने ३,७५४ रुपैयाँ मासिक पाउँछन्। बीबीसीबाट