नागरिकसँग नेपालस्टाटस शृङ्खला—१ : जनतामा राजनीतिप्रति पलाएको बितृष्णा !

धुनिवेशी - नेपालमा संघियता आएसँगै सबै जनतालाई लागेको थियो, अब स्थिर सरकार बन्ने भयो । सदरमुकाम जान घण्टौँ हिड्नुपर्ने बाध्यता गाउँ गाउँमा आएको हिंहदरवारले सहज बनाउने भयो । तर सोचे जस्तो जनताहरुले पाउन नसकेको गुनासो बढ्दै गएको छ । पछिल्लो समय चुनाव जितेर गएका दलहरुमा पनि दरार उत्पन्न भएपछि अधिकांश जनताको मन राजनितिबाट टाढिएको छ ।

धादिङ धुनिवेशी नगरपालिका वडा नम्बर ८ का अर्जुन सुवेदी अहिले राजनिती शब्द पनि सुन्न नचाहने भएका छन् । गाउँमा आश्वासन दिएका कुरा पुरा नहुने देखि केन्द्रतहसम्मका नेताहरुले देश नै डुवाउन लागेको बढी चिन्ता लागेको उनी बताउँछन् ।
उनी भन्छन्—“राजनितीको कुरा गरेर साद्दे नै छैन । यो पहिलेदेखिकै निरन्तर लडाई मात्र भईरहेको छ । अब देशमा स्थिर सरकार आउनुपर्नेमा फेरि सत्तामा देखिएको लडाईले बितृष्णा पैदा गरेको छ”,उनी थप्छन्—“भोट माग्न आउँदा दिएका आश्वासन बर्षौसम्म पनि पुरा नगर्ने र पछि फेरि चुनावमा त्यहि आश्वासन दिएर भोट माग्न आउने परम्परा बढीरहेको छ ।”

गाउँमै स्थानिय सरकार आएपछि जनताका दुख बुझ्ने धेरै हुन्छन् भन्ने लागेका ईन्द्र लाल श्रेष्ठलाई पनि अहिले भोट माग्न मात्र आउने रहेछन् भन्ने लागेको छ । भोट मागेर गएपछि भाषण ठुला दिएर आश्वासन देखाउने र भोट दिनेलाई प्रतिनिधीले नचिन्ने अबस्था आउने उनको अनुभव छ ।

धुनिबेशी ८ का जयराम सुवेदीको भनाई फरक छ । ठुला कर्मचारी र नेताहरुको बिकास भएजसरी सुकुम्बासिको पनि बिकास हुन सके देश अगाडी जाने उनी बताउँछन् । देशमा कानुन मात्र बनेको बताउँदै जनतासम्म अधिकारहरु आउन नसकेकोप्रति उनको दुखेसो छ । नेता र ठुला कर्मचारीको बिकास भएजसरी नै सुकुम्बासि जनताको पनि बिकास हुन सके देश अगाडी जाने उनी बताउँछन् ।

दुई तिहाई बहुमतको सरकार चिढिएर अहिले पानी बाराबारको अबस्थामा पुगेको छ । सर्बोच्च अदालतले संसद पुनस्थापन गरेसँगै कतै हर्ष छ भने कतै कसरी अगाडी जाने भन्ने चिन्ता । तर सत्तामा जाने कुनै नौलो ब्यक्ति भने छैनन् । देशमा अस्थिरता नित्याएर जनतामा निराशा पैदा भएपछि राजनितीमा नै धेरैको बितृष्णा बढ्दो छ ।

राजनितीप्रति गैर जिम्मेवारीले यो अबस्था आएको राजनितिक बिश्लेशक प्रा डा सुरेन्द्र केसिले बताएका छन् । भ्रष्टचार, अनियमितता, महङ्गी बढ्दो, बिकासका नाममा भाषण मात्रै ठला हुँदा अब जनतामा आशाा गर्ने ठाउँ नै नरहेको उनको भनाई छ । सबै क्षेत्रमा सोचे जति काम नहुने र बेरोजगारीहरुको संख्या बढ्दै गएर बैदेशिक रोजगारमा जानुपर्ने बाध्यता पनि यहि कारण निम्तिएको उनको भनाई छ ।

निर्वाचनको समयमा गाउँ घरमा बाँडिने आश्वासन अब जनताले बिश्वास गर्न छाडिसकेका छन् । यहि बिश्वास दिलाउनकै लागी राजनितीक पार्टीहरुले जनताले पत्याउनै नसकिने र पुरा गर्न नसक्ने भाषणाहरु दिने परिपाटी नै अहिलेको बितृष्णा बन्न पुगेको अर्का राजनितीक बिश्लेशक पुरन्जन आचार्य बताउँछन् । 

देश बिकास र समाज सुधार, अर्थतन्त्रमा सुधारका पक्षलाई पाखा लगाएर समसामयिक बिषयमा ध्यान दिनुपर्ने बेलामा सत्ताको लागी पछिल्लो समय देखिएको नैराश्यता नै अहिलेको बितृष्णा बनेको उनको भनाई छ ।

तर संघियताले सिकाएका धेरै पाटाहरु छन् । बिकास हुन दसकौँ लाग्ने ठाउँहरु अहिले प्राथमिकताको क्षेत्रमा पर्न थालेका छन् । संघियता र बिकासमा बामे सर्दै गरेको नेपालको राजनितीक अबस्थाप्रति जनताको बितृष्णा आखिर कहिलेसम्म ?